अन्तरविद्यालय बास्केटबल भदौ २४ देखि, ५९ टोली भिड्दै

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं । ग्रिनल्याण्ड बोर्डिङ स्कुलको आयोजनामा २०औँ ग्रिनल्याण्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भदौ २४ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ।विद्यालयले मंगलबार सार्वजनिक गरेको जानकारीअनुसार प्रतियोगितामा विभिन्न तीन विधामा गरी ५९ विद्यालयका टोली सहभागी हुनेछन्। जुनियर ब्वाइजतर्फ १६, कक्षा १० सम्मको गर्ल्सतर्फ १६ र सिनियर ब्वाइजतर्फ २५ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल ११७ खेल सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्।

समूह चरणका खेल लिग प्रणालीमा खेलाइनेछ भने प्रि–क्वाटरफाइनलदेखि सेमिफाइनलसम्मका खेल नकआउट प्रणालीबाट सञ्चालन गरिनेछ।विद्यालयले २०६० सालमा सुरु गरेको यो प्रतियोगिता विभिन्न कारणले केही वर्ष रोकिएको थियो। २०६२/६३ को जनआन्दोलन, २०७२ को भूकम्प तथा २०७५/७६ को कोभिड महामारीका कारण प्रतियोगिता नियमित रूपमा सञ्चालन हुन सकेको थिएन। त्यसका बाबजुद निरन्तरता पाउँदै यस वर्ष प्रतियोगिता २०औँ संस्करणमा पुगेको हो।नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघबाट मान्यता प्राप्त रेफ्रीले खेल सञ्चालन गर्नेछन्। ‘खेल स्वास्थ्यका लागि र खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितालाई विद्यालयले नयाँ प्रतिभा पहिचान तथा खेलाडीको क्षमता विकास गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

banner

विद्यालयका खेलकुद प्रशिक्षक पूर्ण न्यौपानेले प्रतियोगिताले विद्यार्थीमा खेलकुद संस्कारसँगै अनुशासन, टिम भावना र स्वस्थ जीवनशैलीको विकासमा सहयोग पुग्ने बताउनुभयो। सह–प्राचार्य विनोद घिमिरेले खेलकुदबाट विकसित हुने समूहमा काम गर्ने संस्कारले विद्यार्थीको शैक्षिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो।

विद्यालयका प्राचार्य तथा प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरुङले प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्दै विद्यालय तहबाटै खेलाडीको सीप र खेलकुद संस्कार विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गत संस्करणमा सिनियर ब्वाइजतर्फ टिआइए स्कुल, सिनियर गल्र्सतर्फ भ्याली पब्लिक स्कुल र जुनियर ब्वाइजतर्फ गोल्डेन पिक स्कुल विजेता बनेका थिए।आयोजकले प्रतियोगिता सफल बनाउन सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक तथा सहभागी विद्यालयका संस्थापक र प्रिन्सिपलको सहयोगको अपेक्षा गरेको छ। ग्रीनल्यान्ड विद्यालय टोखाले खेलकुद र शिक्षालाई सँगसँगै लाने अभिप्रायले विभिन्न अतिरिक्त क्रियाकलापहरू गरी विद्यार्थीको सर्वांगिन विकासमा महत्वपूर्ण योगदान दिइरहेको जनाएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00