काठमाण्डौं । काठमाण्डौं जिल्ला प्याव्सनको आयोजना तथा तारकेश्वर नगर प्याव्सनको संयोजनमा काठमाण्डौं जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र बास्केटबल प्रतियोगिता एक समारोहकावीच मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको परिसरमा सम्पन्न भएको छ ।
काठमाण्डौं जिल्लाका नगर पालिकाहरूमा प्याब्सन सदस्य रहेका विद्यालयवाट ३६ टिम स्पर्धामा सहभागी रहेका थिए । सबैलाई पछि पार्दै नागार्जुन नगरपालिकाको रेडियन्ट पब्लिक स्कुलले छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ भने उप विजेता न्युटन हाइस्कुल बन्न सफल भएको छ । नक आउटको आधारमा खेलको प्रतिस्पर्धा भएको खेल रेफ्री नारायण खवासले संयम दैनिकलाई प्रष्ट पार्नुभएको थियो ।
तारकेश्वर नगरपालिकाको लालिगुराँस नेश्नल एकेडेमीमा २२गते उद्घाटन भई प्रतियोगिता सुरु गरिएको थियो। २३ गते एन्जल्स हार्ट मा.विमा तथा हिमरश्मी स्कुलमा मंसिर २४ गते भएको प्रतियोगिता लाली गुराँस नेशनल एकेडेमीमा सम्पन्न भएको हो । कडा प्रतिस्पर्धावीच प्रतियोगितको फाइनल खेलमा रेडियन्टले काठमाण्डौं महानगरपालिका अन्तर्गतको न्युटन स्कुललाई ५६ – ४३ ले पराजीत गदै उपाधि जितेको हो । प्रतियोगिताको द्वितीय स्थान न्युटन स्कुलले हात पार्यो भने नागार्जुनको काठमाण्डौं भ्यालीले टिआइए स्कुललाई २८ – ११ ले पछि पारेर तृतीय स्थान सुरक्षित गऱ्यो। थुङरान इन्टरनेश्नल एकेडेमी (टिआइए ) चौथो स्थान प्राप्त गर्न सफल भयो । मंसिर २५ गतेको प्रतियोगिता समापन कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गरेका टिमहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमशः नगद रु ३० हजार, २० हजार, १५ हजार र १० हजार पुरस्कारले प्रमुख अतिथि , विशेष अतिथिद्वारा पुरस्कृत गरियो। प्रतियोगिताको ६० स्कोर गर्ने खेलाडी उज्जवल श्रेष्ठ र मष्ट भ्यालुयबल पर्सनमा अमोसोन मोक्तान पर्न सफल भए ।
स्पर्धामा काठमाण्डौं जिल्लाका कक्षा १० सम्मका ३६ छात्रहरुको टिमको सहभागीता रहेको काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष एवं ईसिए प्रमुख धनबहादुर पुनले जानकारी दिनुभयो ।
लालिगुराँस नेश्नल एकेडेमिमा आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै प्याव्सन केन्द्रीय कार्यसमितिका सह–अध्यक्ष गोपाल आचार्यले प्रतियोगितामा बिजयी टिमलाई बधाई र सुभकामना व्यक्त गदै पढाइ र खेलकुदलाई सँगसँगै अगाडि बढाउन हौसला तथा सुझाव प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष तथा प्रतियोगिता समापन कार्यक्रमका सभाध्यक्ष नवराज भट्टले वास्केट बल स्पर्धा सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यावाद दिंदै, जिल्ला प्याब्सन काठमाडौँले बालबालिकाको प्रतिभालाई माथि उठाउन यस्ता आयोजना गर्ने गरेको प्रष्ट पार्नुभयो।
तारकेश्वर नगर प्याव्सनका इसिए÷सिसिए विभागका प्रमुख नवराज न्यौपानेले सहजीकरण गर्नुभएको कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्षहरु धन बहादुर पुन, सुर्य केसी र सुर्य भण्डारी, काठमाडौँ प्याब्सनका जिला सचिव कृष्ण भण्डारी ,कोषाध्यक्ष डि.एन .अधिकारी काठमाडौं जिल्ला प्याब्सन सल्लाहकार – राम बहादुर केसी , त्यसैगरी तारकेश्वर नगर प्याव्सनका अध्यक्ष गोपाल बहादुर बुढाथोकी, प्याव्सन पूर्व केन्द्रीय सदस्य जुद्ध बहादुर पुन, तारकेश्वर नगर प्याब्सनका नगर सचिव झनकराज शर्मा , सहसचिव नारायण पोख्रेल, कोषाध्य बद्री भट्ट , सह – कोषाध्यक्ष टक बहादुर थापा लगायत विभिन्न प्याब्सनका तह र तप्काका पदाधिकारीहरू , प्रिन्सिपल, शिक्षक ,विद्यार्थी तथा खेलप्रेमी जनसमुदायको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो। समापन कार्यक्रममा लालिगुराँस स्कुलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

