धवलागिरी गाउँपालिका–६ मराङस्थित डाँफे युवा क्लबले बास्केटबल तथा भलिबल खेलमैदान ढलानका लागि सहयोगको अपिल गरेको छ।क्लबको भदौ २० गते बसेको बैठकले खेलमैदान निर्माणलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाँबाट निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो।
उक्त रकमले मात्र निर्माण कार्य सम्पन्न गर्न अपुग हुने भएकाले स्वदेश तथा विदेशमा रहेका क्लबप्रति शुभेच्छुक, आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीसहित सबैलाई आर्थिक सहयोग गर्न क्लबले आग्रह गरेको छ।क्लबले खेलमैदान निर्माणले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै भविष्यका प्रतिभाशाली खेलाडी उत्पादनमा सहयोग पुग्ने जनाएको छ। ‘थोपा–थोपा मिलेर महासागर बन्छ’ भन्ने भावनासहित सानो सहयोग पनि क्लबका लागि अमूल्य हुने भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ।आर्थिक सहयोग संयोजकको भूमिकामा एकिन जुग्जाली (संयोजक), सुमन केसी (सदस्य तथा क्लब अध्यक्ष), तेजिन्द्र मान पुन, सफल गर्नुजा, गमबहादुर गुरुङ, किशोर गर्नुजा र जगबहादुर गर्बुजा (सदस्य) रहेको जनाइएको छ ।