एन्जल्स स्पोर्ट्स एकेडेमीको आयोजना तथा एन्जल्स् हार्ट एजुकेसन फाउन्डेसनको प्रायोजनमा मङ्सिर २५ गतेदेखि सुरु गरिएको JCL U -12 को क्रिकेट प्रतियोगिता एक समारोहका बीच एन्जल्स स्पोर्ट्स एकेडेमीकै प्राङ्गणमा सम्पन्न भएको छ।
काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट प्रमुख अतिथि रहेको उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा एन्जल्स् हार्टस् विद्यालयका सञ्चालक समितिका अध्यक्ष लिलबहादुर पुनले उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रमको सभाध्यक्षता गर्नुभएको थियो।प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने जिएचसिए र डीएबी एकेडेमीले क्रमश प्रथम र द्वितीय स्थानको पुरस्कार लिन सफल भए । यो प्रतिस्पर्धामा मङ्सिर २५ देखि फाइनलसम्म आइपुग्दा १६ वटा प्रतिस्पर्धी टिमले सहभागिता जनाएका थिए।पुरस्कृत टिमलाई हौसला प्रदान गर्दै प्रमुख अतिथि नवराज भट्टले खेलमा उत्कृष्टता गरेजस्तै पढाइमा पनि उत्कृष्टता गर्न शुभकामना व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि भट्टले आफ्नो मन्तव्यमा आयोजक तथा क्रिकेट खेलाडीहरूलाई हौसला प्रदान गर्दै काठमाडौँ जिल्ला प्याब्सनले आगामी वर्षबाट खेलमा नगद पुरस्कारको प्रायोजन गर्ने प्रष्ट पार्नुभएको थियो। एन्जल्स् हार्ट विद्यालयका सञ्चालक समितिका अध्यक्ष तथा उक्त पुरस्कार वितरणका सभाध्यक्ष लिलबहादुर पुनले खेलबाट पनि पर्यटनको विकास गर्न सकिने र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै डलर समेत आय आर्जन गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो।कार्यक्रममा अतिथिहरूलाई स्वागत मन्तव्य एन्जल्स स्पोर्ट्स एकेडेमीका सीइओ खेम थापाले गर्नुभएको थियो।विशिष्ट अतिथि किरण शमशेर जङ्ग राणाले शुभकामना मन्तव्य दिँदै खेलाडी भाइबहिनीहरूलाईअगाडि बढ्न सानै उमेरदेखि खेल खेल्दै गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो।त्यसैगरी क्रिकेट खेलमा उत्कृष्टता देखाउने खेलाडी तथा म्यान अफ दि म्याच पनि अतिथिबाट पुरस्कृत गरिएका थिए।

मङ्सिर ६ गते तारकेश्वर ९ को उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई एन्जल्स् हार्ट स्कुल तथा कलेजका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकी तथा खेल डाइरेक्टर कुसल खड्काले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाले आयोजना गरेको चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गरी स्कुलको गरिमा बढाउने एन्जल्स् हार्ट्स नेसनल स्कुलका विद्यार्थी तथा एन्जल्स हार्ट सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई नगदसहित प्रमाणपत्रले सम्मान गर्दै प्रमुख अतिथि लगायत विशिष्ट अतिथिवाट हौसला प्रदान गरिएको थियो। चौथो मेयर रनिङशिल्ड मङ्सिर १३ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो। जहाँ ६४ विद्यालयले सहभागिता जनाई करिब ३००० विद्यार्थीहरू ११ खेल विधामा प्रतिस्पर्धा गरेका थिए ।
त्यसैगरी कक्षा ११ र १२ का विद्यार्थी भाइबहिनीहरू कलेजको आन्तरिक फुट्सल बास्केटबल देखि लिएर विविध प्रतियोगिताहरूमा पुरस्कृत भएका थिए। यी खेलाडी विद्यार्थी भाइबहिनीहरूलाई ट्रफी , मेडल तथा सर्टिफिकेटले पुरस्कृत गरिएको थियो। यी खेलहरू मङ्सिर १० देखि १३ गतेसम्म एन्जल हार्ट सेकेन्डरी स्कुल परिवारभित्र खेल सप्ताहका रुपमा प्रतियोगितात्मक तरिकाले गरिएको थियो।

अर्कोतर्फ एन्जल्स हार्ट नेसनल स्कुलका सानासाना विद्यार्थी खेलाडीहरू जो अस्ट्रेलियाको खेलकुद प्रतियोगितामा जाँदैछन्, प्रमुख अतिथि तथा विशेष अतिथिवाट उनीहरुलाई पनि सम्मान, पुरस्कार तथा हौसला प्रदान गर्दै विदेशमा पनि नेपाललाई चिनाउने आशा व्यक्त गरिएको थियो । एन्जल्स् हार्ट नेसनल स्कुलका प्रिन्सिपल टक थापाले अस्ट्रेलियामा यी विद्यार्थी भाइबहिनीहरूले खेलकुदका विभिन्न विद्यामा प्रतिस्पर्धा गर्नेछन् भन्नुभयो ।
JCL U – 12 क्रिकेट प्रतियोगिता समापनमा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता गरिमामय पदक जितेका विद्यार्थीहरू लगायत आन्तरिक एन्जल्स हार्ट स्कुल / कलेजका साप्ताहिक खेलकुद विजेताका साथै अस्ट्रेलिया जाने साना विद्यार्थीहरूको समग्र पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि नवराज भट्ट लगायत विशिष्ट अतिथिहरुले नगदसहित , ट्रफि मेडल, सर्टिफिकेट प्रदान गरेको उक्त कार्यक्रममा , काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष धनबहादुर पुन , स्कुल संचालक समिति उपाध्यक्ष यम बहादुर छन्त्याल , एन्जल्स् हार्ट नेशनलका प्रिन्सिपल टक थापा ,विद्यार्थी खेलाडीहरू ,खेल प्रशिक्षक,अभिभावक, खेल प्रायोजन गरेका संस्थाका अतिथि पदाधिकारी प्रमुखहरू तथा समस्त खेलप्रेमी जनसमुदायको उपस्थितिले , समग्र कार्यक्रमको महत्व बढाएको थियो।उक्त कार्यक्रममा प्रतिभाशाली विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरंजनपूर्ण बनाएका थिए ।


