तारकेश्वर हिसानको आयोजना तथा सिर्जना ज्ञानसागर माध्यमिक विद्यालयको संयोजकत्वमा तारकेश्वर हिसान अन्तर्गतका विद्यालयहरू बीचमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौँ जिल्ला हिसानका अध्यक्ष गोपीराज पराजुलीको प्रमुख आतिथ्यता रहेको उक्त प्रतियोगितामा हिसान तारकेश्वरका अध्यक्ष लिलवहादुर पुनको सभाध्यक्षता रहेको थियो ।

भदौ २० गते सिर्जना ज्ञान सागर स्कुलको सभाकक्षमा सम्पन्न उक्त प्रतियोगितामा हिसान काठमाडौँका अध्यक्ष गोपीराज पराजुलीले प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै उहाँले प्रतियोगिता जित्नु छुट्टै पाटो हो प्रतियोगितामा सहभागिता हुनु पनि एक प्रकारको जित नै हो भन्दै उहाँले उपस्थित प्रतियोगीहरुलाई हौसला प्रदान गर्नुभएको थियो। त्यसैगरी प्रमुख अतिथि पराजुलीले प्राकृतिक विपत्तिको विषयमा अब गएर तपाईहरुले रिसर्च गर्नुस् केही बुझ्नु बुझाउनुपर्ने कुराहरू खोज्नुस् भन्दै विद्यार्थीलाई अध्ययनशील हुन संकेत गर्नुभएको थियो।हिसान तारकेश्वरका इसीए प्रमुख राजेश रायमाझीले उपस्थित पाहुनाहरूलाई स्वागत मन्तव्य राख्दै उहाँले तारकेश्वर हिसानले यस्ता प्रतियोगिताबाट विद्यार्थीको लिडरसिप क्षमताको विकास गराउँछ भन्नुभएको थियो।कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सृजना ज्ञान सागर स्कुलका पलस टु संयोजक हरिहर सिलवालले प्रतियोगिताले कि जिताउँछ कि केही नयाँ कुरा सिकाउँछ भन्दै सहभागी विद्यार्थीहरूलाई प्रतियोगिताको महत्त्व प्रष्ट पार्नुभएको थियो ।

सभाध्यक्षको तर्फबाट आफ्नो विचार व्यक्त गर्दै हिसान तारकेश्वरका अध्यक्ष लीलबहादुर पुनले विद्यार्थीहरूलाई जसले जिते पनि हारे पनि यो एउटा आफूलाई तिखार्दै जाने माध्यमको रुपमा लिन सुझाव दिनुभएको थियो। उहाँले यस्ता खाले प्रतियोगिताबाट विद्यार्थीहरूले आफैभित्रको कमीकमजोरीहरू बुझ्दै निरन्तर अगाडि बढ्ने अभ्यास गर्नुपर्छ भन्ने सन्देश दिनुभएको थियो।त्यसैगरी वक्तृत्व कला प्रतियोगिताको मूल्याङ्कन मण्डलमा रहनुभएका गोपीचन्द्र लामिछाने ,रेणुका भण्डारी , रमेशजंग कवँर मध्येबाट रमेशजंग कवँरले विद्यार्थीको वक्तृत्व कलाको सूक्ष्म विश्लेषण गर्दै ,उहाँले आफ्नो मन्तव्यमा विद्यार्थीहरूमा समय व्यवस्थापनमा चुनौती भेटिएको र विषयवस्तुको निष्कर्षमा पुग्न पनि अलि गाह्रो भएको भएतापनि समग्रमा विद्यार्थीहरूको वक्तृत्व कला कौशलको प्रशंसा गर्नुभएको थियो। उक्त वक्तृत्व कलामा विद्यार्थीहरूले दिइएको शीर्षकबाट एक घण्टा आआफ्नो स्कुलको छुट्टाछुट्टै ग्रुपमा बसी तयारी गरेर एक स्कुलका तीनजना विद्यार्थीमध्ये आफैले एकजनालाई छनोट गरी वक्तृत्व कला प्रस्तुत गरेका थिए।निर्णयका आधार र सीमाहरूभित्र रहेर प्रथम स्थान हासिल गरी उपाधिको प्राप्ति एन्जलस् हार्ट स्कुललाई प्राप्त भयो। द्वितीय स्थानको लागि प्रारम्भ वर्ल्ड स्कुल पर्न सफल भयो । ल्यान्डमार्क स्कुलले तेश्रो स्थानमा आफूलाई राख्न सफल भयो भने चौथो स्थानको लागि हिमरश्मी हाइस्कुलले विजयी हुने मौका प्राप्त गरेको थियो।

विजयी विद्यालय तथा प्रतियोगी विद्यार्थीहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रमुख अतिथि लगायत अतिथि गणहरूको हातबाट प्राप्त गरेका थिए।तारकेश्वर हिसान अन्तर्गतका ९ वटा ११ / १२ पढाइ भइरहेका स्कुल / कलेजका विद्यार्थीहरूले भाग लिएको उक्त वक्तृत्व कला प्रतियोगितामा विद्यार्थीहरूले ‘ प्राकृतिक विपत्ति जोखिम न्यूनीकरणमा हाम्रो भूमिका ‘ शीर्षक अन्तर्गत प्राकृतिक विपत्तिका बारेमा र यसबाट बच्ने /न्यूनीकरण गर्ने उपायहरूका बारेमा आफ्ना बलिया तर्कहरु प्रस्तुत गरेका थिए। हिसान तारकेश्वरले वार्षिक क्यालेन्डर बनाएर बौद्धिक तथा शारीरिक क्षमताको विकासलाई मध्यनजर गरी विद्यार्थीको सर्वाङ्गिण विकासमा काम गर्दै आएको जनाएको छ।उक्त प्रतियोगितामा सिर्जना ज्ञानसागरका भाइस प्रिन्सिपल विश्वमणि घिमिरे , हिमरश्मि हाइ स्कुलका प्लस टु कोअर्डिनेटर लक्ष्मण पाण्डे ,सेक्रेट हार्ट स्कुलका संयोजक केशव रेग्मी, ल्यान्डमार्क एकेडेमीका राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सिर्जना ज्ञानसागर माध्यमिक विद्यालयका कोर्डिनेटर उद्धव फुयालले गर्नुभएको भियो । उक्त संयोजक स्कुलका आधारभूत तह कोर्डिनेटर जनार्दन अर्याल , विद्यालय प्रशासन प्रमुख सीता कुमारी भुर्तेल फुयाल लगायत विभिन्न हिसान तारकेश्वर आवद्ध विद्यालयका प्रिन्सिपल तथा भाइस प्रिन्सिपलहरू, कोर्डिनेटरहरू तथा शिक्षक प्रतिनिधिहरू तथा विद्यार्थीहरूको उपस्थितिले कार्यक्रमको गरिमा अझ बढाएको थियो।

