काठमाडौं, साउन २४ — विद्यालय तहबाटै क्रिकेट प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यसहित एन्जल्स हार्ट नेशनल स्कुलले आयोजना गरेको ‘जुनियर क्रिकेट लिग (जेसीएल)–२०८३ : इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता’ सुरु भएको छ।
तारकेश्वर–९, मनमैजुस्थित एन्जल्स स्पोट्र्स कम्प्लेक्स (ए–१ इन्डोर) मा सुरु भएको प्रतियोगिता साउन २८ गतेसम्म चल्नेछ। टी–१० इन्डोर क्रिकेटको लिग तथा नकआउट प्रणालीमा भइरहेको प्रतियोगितामा उपत्यकाका २४ विद्यालयका २५० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी छन्।उद्घाटन कार्यक्रम रोचक रह्यो। बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री शैलेन्द्रमान बज्राचार्यको ब्याटिङ र पूर्वराष्ट्रिय खेलाडी शरद भेषावकरको बलिङबाट प्रतियोगिता सुरु गरिएको थियो। पहिलो बलमै भेषावकरले विकेट लिएपछि माहोल झनै उत्साहपूर्ण बनेको थियो।मन्त्री बज्राचार्यले विद्यालय तहबाटै खेलाडी उत्पादन र खेल वातावरण निर्माण महत्वपूर्ण रहेको बताए।
उनले प्रदेश सरकार सहकार्यका लागि तयार रहेको पनि उल्लेख गरे।प्रतियोगिता एन्जल्स स्पोट्र्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टरले आयोजना गरेको हो भने काठमाडौं गोर्खाजले विशेष सहयोग गरेको छ।विजेता टोलीले ३० हजार रुपैयाँ, ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, रजत पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी, ब्याटर, बलर, उदयीमान खेलाडी र फेयर प्ले अवार्ड पनि प्रदान गरिनेछ।प्रतियोगितामा विभिन्न २४ विद्यालय सहभागी छन्। साउन २८ गतेसम्म चल्ने जेसीएलले विद्यालयस्तरमा क्रिकेट विकास र नयाँ प्रतिभा पहिचानमा योगदान गर्ने आयोजकको अपेक्षा छ।

