काठमाडौँ जिल्ला प्याब्सनको आयोजना तथा तारकेश्वर नगर प्याब्सनको संयोजनमा ४ दिवसीय प्याब्सन काठमाडौँ जिल्ला स्तरीय अन्तर विद्यालय बास्केटबल प्रतियोगिता एक समारोहका बीच लालीगुराँस नेसनल एकेडेमी तारकेश्वरको परिसरमा एक भव्य समारोहमा उद्घाटन गरिएको छ।
काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप प्रमुख धनबहादुर पुन तथा तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीका साथै तारकेश्वर नगर प्याब्सनका उपाध्यक्ष तथा इसिए प्रमुख नवराज न्यौपाने लगायत तारकेश्वर नगर प्याब्सनका कार्यसमिति पदाधिकारी झनकराज शर्मा ,अवसर पौडेल ,खेल प्रशिक्षक, खेलाडी तथा खेलप्रेमी, शिक्षक तथा समस्त पाहुनाहरूको माझमा कार्यक्रमको समुद्घाटन भएको हो। रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिएको उक्त कार्यक्रममा खेलाडीहरुलाई अतिथिहरुले हौसला प्रदान गर्नुभएको थियो।
मङ्सिर २१ गते पत्रकार सम्मेलन गरी मंसिर २२ गतेबाट शुभारम्भ गरेको उक्त कार्यक्रममा काठमाडौँ जिल्लाबाट ३६ टिमहरु सहभागी हुने उक्त बास्केटबल प्रतिस्पर्धामा नक आउटमा आधारित खेल हुने जनाइएको छ।कार्यक्रमको उद्घाटनसँगै पहिलो चरणको खेल धमाधम भइरहेको छ । आयोजकले काठमाडौँ जिल्ला स्तरीय प्रतिस्पर्धी खेलाडी निर्माण गर्न सकेमा भोलि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी निर्माण हुने अपेक्षा राखेको छ । कक्षा १० सम्मका छात्रहरूको सहभागिता रहेको प्रतियोगिता मङ्सिर २५ गतेसम्म समापन हुने समेत आयोजकद्वारा प्रष्ट पारिएको छ।
