काठमाडौं ।
भोटेकोशी हिमबाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि प्याब्सन तारकेश्वरले ४२ लाख ६२ हजार ६८९ रुपैयाँ सहयोग जुटाएको छ। उक्त रकम तारकेश्वर नगर प्याप्सनका अध्यक्ष गोपाल बुढाथोकीले काठमाडौँ जिल्ला प्याप्सनका अध्यक्ष नवराज भट्टलाई हस्तान्तरण गर्नुभएको हो।

विद्यालयको गच्छे अनुसार जम्मा गरी समग्रमा ४२ लाख ६२ हजार ६८९ रकम सहयोग जुटाउन सफल भएको तारकेश्वर नगर प्याप्सनले जनाएको छ।तारकेश्वर क्षेत्रका सदस्य विद्यालय तथा सम्बन्धित पक्षबाट संकलित उक्त रकम प्याब्सन तारकेश्वरले काठमाडौं जिल्ला प्याब्सनलाई हस्तान्तरण गरेको हो। विपद्को समयमा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले निजी तथा संस्थागत विद्यालयहरूको पहलमा सहयोग रकम संकलन गरिएको प्याब्सन तारकेश्वरले जनाएको छ।काठमाडौं जिल्ला प्याब्सनले जिल्लाका विभिन्न पालिकाबाट संकलित राहत रकमलाई एकीकृत गरी केन्द्रीय प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको छ।भोटेकोशी हिमबाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्याब्सनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्को घडीमा राहत तथा सहयोगमा हातेमालो गर्ने विद्यालय, शिक्षक, अभिभावक तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरिएको छ।
