Thursday, July 30, 2026

‘जदौ ‘ क्रान्ति नायक दाहाल यज्ञनिधिको ७३ औँ जन्म जयन्ती तथा सुप्रभात काव्य गोष्ठी सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

-माधव घिमिरे ‘अटल’ काठमाडौँ । ‘जदौ’ क्रान्ति नायक दाहाल यज्ञनिधिको ७३ औँ जन्म जयन्ती विशेष समारोह भव्यतापूर्वक मनाउने सिलसिलामा नागार्जुन वाङ्मय प्रतिष्ठानले आफ्नो मासिक सुप्रभात काव्य गोष्ठी पनि सम्पन्न गरेको छ ।

प्रा.डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवाल, डा. विनोद मन्जन, डा. रमेश शुभेच्छु र पवित्रा सुनार ‘सानु’ अतिथि वक्ताका रुपमा थिए भने रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ कवि विशेषका रुपमा सहभागी थिए । दाहाल यज्ञनिधिकी जीवनसँगिनी सुधा दाहालकको पनि सो कार्यक्रममा उपस्थिति थियो ।

यसका साथै पुरस्कार छनोट उपसमितिका संयोजक डा. विनोद मन्जन, रोजन राई र गौरी दाहालको सहभागिता रहेको सो कार्यक्रममा पूर्णविरामका कविता पनि वाचन गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. सुधा त्रिपाठीले दाहाल यज्ञनिधिको सान्निध्यबारे चर्चा गर्दै दाहालको बुलन्द स्वरको तारिफ गरिन् । उनले आफ्ना कविताहरू साहित्य संसारमा आउँदा र तिनको पच्चीस, पचास रुपैयाँ पारिश्रमिक पाउँदा फुरूङ्ग हुने गरेको गरेको अनुभूति साझा गरिन् । दाहालको हक्की स्वभावबारे परिचर्चा गर्दै त्रिपाठीले आफ्ना राजनीतिक आस्था फरक हुँदाहुँदै पनि स्वभावमा धेरै समानता भएको स्विकारिन् । उनले आफूले ब्रह्मले देखेको लेख्न दाहालले कहिल्यै हात नकमाएको उल्लेख गरिन् ।आफ्नो कथनलाई पूर्णरूपमा दाहालको प्रशंसामा खर्चंदै त्रिपाठीले दाहाल निष्ठाका हिसाबले पूर्णतः समाजवादी भएको स्विकारिन् ।कार्यक्रममा यस वर्षको जदौ पुरस्कार साहित्यकार प्रकाश सिलवाललाई अर्पण गरिएको थियो । प्रमुख अतिथि प्रा.डा. सुधा त्रिपाठी तथा दाहालकी जीवनसँगिनी सुधा दाहाल तथा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले सिलवाललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कृत व्यक्तित्व प्रकाश सिलवालले दाहाल यज्ञनिधिको सराहना गर्दै नागार्जुन वाङ्मयसँग दाहालको संलग्नता दरिलो भएको बताउँदै उनी नागार्जुन वाङ्मयका सल्लाहकारहरूको मियो भएको दाबी गरे । आर्थिक साम्राज्य फैलाइरहेका विभिन्न सङ्घ, संस्थाका विकृतिबारे पनि खुलेर बहस हुने गरेको सिलवालले स्मरण गरे ।डा. रमेश शुभेच्छुले दाहाल यज्ञनिधिको जीवनका आएका व्यवधान र उतिखेर रेडियो नेपालमा कार्यक्रम ‘साहित्य संसार’ सञ्चालन गर्दा तत्कालीन व्यवस्थाले दिएका यातना र ताडनाका कथाहरूबारे खुलासा गरे । दाहालले शेषपछि शरीर दान गरेको प्रसङ्गदेखि सहजै मृगौला प्रत्यारोपण गर्न पाउनुपर्ने भनी राखेको अडानका विषय पनि शुभेच्छुले उठाए ।पुरस्कार संयोजक निबन्धकार तथा समालोचक डा. विनोद मन्जनले पुरस्कृत व्यक्तित्व प्रकाश सिलवालको व्यक्तित्व र कृतित्वबारे मात्र प्रकाश पारेनन् बरु सिलवाललाई नै छनोट गर्नुपर्नाको कारण पनि खुलाए । समालोचक डा. हरिप्रसाद सिलवालले दाहाल यज्ञनिधिको साहित्यिक विशिष्टताबारे चर्चा गर्दै दाहाल यज्ञनिधिका निबन्ध अत्यन्त मोहनीय भएको भन्दै नपढिएमा एउटा युग नै पढ्न छुट्ने दाबी गरे । जे हो विषयवस्तु त्यही प्रस्तुत गर्नुपर्छ भन्ने दाहालको जीवन दर्शन रहेको सिलवालको जिकिर थियो ।अतिथि वक्ता पवित्रा सुनार ‘सानु’ले कविताबाट आफ्ना भनाइ राख्दै दाहालको अद्भुत क्षमताको मुक्तकण्ठले सराहना गरिन् । सुनारले आदरार्थी ‘जदौ’लाई जसरी दलितले मात्र प्रयोग गर्ने हेय शब्दका रूपमा प्रयोग गरिन्थ्यो, दाहालले नै लाक्षणिक रुपमा यसलाई प्रयोग गरेर आम मान्छेको शब्दका रुपमा पुनः परिभाषित गरेको स्मरण गरिन् ।दाहालकी जीवनसँगिनी सुधा दाहालले दिवङ्गत दाहालका क्रान्तिकारी आचरणका बारेमा चर्चा गर्दै दाहाल यज्ञनिधि सुधा सदनको स्थापनाबारे सङ्क्षिप्तमा प्रकाश पारिन् ।

banner

रचना वाचन गर्नेहरूमा लक्ष्मण अधिकारी, रामदेव पाण्डे, गङ्गा खतिवडा, युवराज नास्तिक, शिवप्रसाद आचार्य, लक्ष्मणदेव पाण्डे, दिनेश खरेल, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ लगायतका सर्जकहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए । कवि पूर्णविरामका कविताका प्रतिस्पर्धीमध्ये चर्चित युवा गीतकार प्रमोद भण्डारी पुरस्कृत भए भने जदौ सम्मानबाट डा. हरिप्रसाद सिलवाल तथा विनोद मन्जन विभूषित भए ।प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे भने प्रतिष्ठानका महासचिव युवराज नास्तिकले सहजीकरण गरेको सो कार्यक्रमको उनैले बिट मारे ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00