काठमाडौं ।
एन्जल्स हार्ट स्कुलद्वारा आयोजित विद्यालयस्तरबाट लोकप्रिय खेल क्रिकेटका प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजित ‘जुनियर क्रिकेट लिग (जेसीएल)–२०८३ : इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता’को उपाधि जेम्स स्कुल धापाखेल, ललितपुरले जितेको छ।
साउन २४ देखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ विद्यालयका २५० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी थिए। प्रतियोगिता टी–१० इन्डोर क्रिकेटको लिग तथा नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो।

तारकेश्वर नगरपालिका–९, मनमैजुमा रहेको एन्जल्स स्पोर्ट्स कम्प्लेक्स (ए–१ इन्डोर) मा भएको फाइनलमा जेम्स स्कुलले डिएभी ब्लु टिमलाई पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै जेम्सले नगद ३० हजार रुपैयाँसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्यो।
उपविजेता डिएभी ब्लुले नगद २० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्रमा चित्त बुझायो। विद्यालयस्तरमै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी विद्यार्थीहरूले उल्लेखनीय खेल कौशल प्रस्तुत गरेका थिए।

व्यक्तिगत विधातर्फ डिएभी ब्लुका कमल शाहीले बेस्ट ब्याट्सम्यान र बेस्ट प्लेयर दुवै अवार्ड जिते। हिमालय ह्वाइटहाउसका रिमम अधिकारी बेस्ट बलर घोषित भए भने आयोजक एन्जल्स हार्ट नेशनल स्कुलका अभिषेक कठायतले इमर्जिङ प्लेयरको पुरस्कार पाए।
त्यस्तै, फेयर प्ले अवार्ड तारकेश्वरको सामुदायिक विद्यालय मानसिंह धर्मको टोलीले प्राप्त गर्यो। खेल कौशलसँगै अनुशासन, खेलभावना र मर्यादित प्रतिस्पर्धालाई आधार मानेर प्रदान गरिएको यो अवार्डले विद्यालय क्रिकेटमा खेल संस्कारको महत्त्वलाई समेत उजागर गरेको छ।
विजेता तथा उत्कृष्ट खेलाडीलाई काठमाडौं गोर्खाजका ओनर प्रमुख अतिथि अनुभव सिरोहियालगायत अतिथिहरूले पुरस्कार, शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गरे।
एन्जल्स हार्ट स्कुलका अध्यक्ष लिल बहादुर पुनले सभाध्यक्षता गरेको पुरस्कार वितरण कार्यक्रममा एन्जल्स् स्पोर्टस एकेडेमीका खिम थापाले खेलाडी तथा अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। पूर्व राष्ट्रिय खेलाडी किरण एस जी बी राणा , एन्जल्स् हार्ट नेशनलका प्रिन्सिपल टक थापा लगायतका अतिथिहरुले प्रतियोगितामा जित र हार एउटै सिक्काका दुई पाटा हुन् भन्दै समग्रमा खेलाडीहरुलाई अगाडि बढ्न हौसला प्रदान गर्नुभएको थियो। अतिथिहरूले आफ्नो मन्तव्यमा खेल शारीरिक रूपले स्वस्थ हुनु मात्र होइन खेल एउटा चरित्र निर्माण र अनुशासन हो भन्नुभएको थियो। संगीता अवालले उद्घोषण गरेको उक्त कार्यक्रममा सभाध्यक्ष, स्कुलका सञ्चालक समितिका अध्यक्ष लिल बहादुर पुनले समग्र खेललाई सम्पन्न गर्नलाई सहयोग गर्ने आयोजक संयोजक लगायत विजयी खेलाडीहरूलाई बधाई तथा आगामी खेल जगतको सफलताको लागि सुवेक्षा प्रकट गर्नुभएको थियो।

पुरस्कार वितरण कार्यक्रममा प्याब्सन काठमाडौंका उपाध्यक्ष धनबहादुर पुन, पोखरा एभेन्जर्सका अपरेसन हेड किरण जेबी राना, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष तथा तारकेश्वर खेलकुद विकास समितिका सदस्य खिम थापा, एन्जल्स हार्ट नेशनल स्कुलका प्रिन्सिपल टक थापा, अम्बे ग्रुपका सीईओ सन्तोष भण्डारी, भेट्रान्स खेलाडी उदय थापा, मेटलाइफका कन्ट्री हेड विकास सिंहल तथा कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक महेश महर्जनलगायतको उपस्थिति थियो।
प्रतियोगिताको व्यवस्थापन एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरले गरेको थियो भने नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजले विशेष सहयोग गरेको आयोजकले जनाएको छ।
