ज्ञानमन्दिर इङ्गलिस सेकेन्डरी स्कुल बालाजु हाइटस्थित स्कुलको आयोजनामा वरिष्ठ साहित्यकार नवराज लम्सालको प्रमुख आतिथ्यता तथा ज्ञानमन्दिर स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा निर्देशक पुरुषोत्तम मानन्धरको सभाध्यक्षतामा , ३९ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम आफ्नै स्कुल परिसरभित्र एक समारोहका बीच भव्यरूपमा सम्पन्न गरिएको छ ।

उक्त समारोहमा , प्रमुख अतिथि वरिष्ठ साहित्यकार नवराज लम्साल लगायतका अतिथिहरूद्वारा ज्ञानमन्दिर दर्पण भाग -३ को विमोचन गरिएको थियो। उक्त पुस्तकमाथि वरिष्ठ साहित्यकार नवराज लम्सालले समीक्षा गर्दै ,उहाँले आफ्नो मन्तव्यमा बालवालिकालाई झोलाभित्रका पुस्तक घोकेर मात्र हुँदैन ,जीवनमा झोला बाहिरबाट समेटिने विषयवस्तुलाई पनि सिक्नुपर्छ भन्दै उहाँले अभिभावकको प्रभाव बालबालिकामा पर्छ भन्ने सन्दर्भका केही दृष्टान्तहरू प्रष्ट पार्नु भएको थियो। बालबालिकाका अभिभावकतर्फ संकेत गर्दै, उहाँले बालवालिकालाई सुख मात्र होइन दुःख पनि सुनाउनुपर्छ भन्दै आफ्नो मन्तव्यमा जिन्दगी हाँसो मात्र होइन ,आँसु पनि हो भन्ने कुरा महसुस गर्न सिकाउनुपर्छ भन्नुभयो। उहाँले दया ,माया ,करुणा ,सद्भाव बिनाको शिक्षा अधुरो रहने सन्देश दिँदै सानासाना विद्यार्थीहरूले अभिभावक तथा अग्रजहरूको व्यवहारले नयाँ ज्ञान लिने गर्छन भनुभएको थियो।
ज्ञानमन्दिर स्कुलका शिक्षक फणिन्द्र भट्टराईले आकर्षक रूपमा सहजीकरण गरेको उक्त कार्यक्रममा स्कुलका भाइस प्रिन्सिपल ज्ञानेन्द्र गिरीले अतिथिहरूलाई शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । ज्ञानमन्दिर सेकेन्डरी स्कुलका प्रिन्सिपल रबिन बस्नेतले अभिभावकका माझमा आफ्ना विचारहरू राख्दै ,उहाँले बदलिँदो समय अनुसार भोलिको समाज र राष्ट्रको लागि चाहिने शिक्षा दिन ज्ञानमन्दिर स्कुल अगाडि बढेको धारणा प्रष्ट राख्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा विद्यार्थीहरूलाई व्यवहारिक तथा संस्कारयुक्त शिक्षाको लागि, सिर्जनात्मक क्रियाकलापहरूको लागि अवसर प्रदान गर्ने वातावरण विद्यालयमा रहेका उदाहरणहरू प्रष्ट पार्नुभएको थियो। उक्त अभिभावक दिवसमा बोल्दै, उहाँले विद्यार्थीले फुड स्टल चलाइरहेको सन्दर्भ राख्दै विक्रीवाट आउने रकम शुद्ध मानव सेवा आश्रमका लागि खर्च गरिने , जसले बालबालिकालाई समाजमा दया र सहयोगको भावना विकास गराउने सन्दर्भ प्रिन्सिपल बस्नेतले प्रष्ट पार्नुभयो ।
शुभकामना मन्तव्य दिने क्रममा ओप्स अध्यक्ष लोकेन्द्र बहादुर खड्काले विद्यालयले सीमित स्रोत र साधनलाई सदुपयोग गर्दै, उहाँले शिक्षामा उत्कृष्टताका साथै अतिरिक्त क्रियाकलापमाहरूमा पनि विद्यालय अब्बल भएको धारणा प्रष्ट पार्दै, विशेष अतिथि खड्काले भावी दिनहरूमा विद्यालय अझै उत्कृष्ट बन्ने अपेक्षा प्रकट गर्नुभएको थियो।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं उक्त अभिभावक दिवसका सभाध्यक्ष पुरुषोत्तम मानन्धरले आफ्नो मन्तव्यमा ज्ञानमन्दिर स्कुलले समयानुकूल शिक्षा प्रदान गर्दै आएको विद्यालयबाट अगाडि बढेका विद्यार्थीहरूले गुणात्मक र दक्षतापूर्ण अब्बल कर्म गरेको सन्दर्भ जोड्दै विद्यालयसँग जोडिएका सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष पुरुषोत्तम मानन्धरले आफ्ना पिता केशवलाल ‘ नेपाली ‘ मानन्धर तथा आमा लक्ष्मी मानन्धरको सम्झनामा केशवलक्ष्मी स्वर्णपदक पुरस्कार ज्ञानमन्दिर स्कुलमा प्रत्येक वर्ष एस ई. ई. मा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई प्रदान गर्दै आउनु भएको छ । २०८१ सालका एस ई.ई. सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने दुईजना विद्यार्थीले ३.९५ अङ्क प्राप्त गरेकाले, केशवलक्ष्मी स्वर्णपदकले पुरस्कृत / सम्मानित हुने ज्ञानमन्दिर स्कुलका विद्यार्थीमा कृष्टिना राणामगर र प्रेरणा गुरुङ पर्न सफल भए। ज्ञानमदिर सेकेन्डरी स्कुलका संस्थापक केशवलाल ‘नेपाली ‘ मानन्धरका नाममा उहाँका सुपुत्र पुरुषोत्तम मानन्धरले यो पदक स्थापना गरी दिन थालेको पनि १० वर्षभन्दा बढी भएको प्रष्ट पार्नुभएको थियो।केशवलक्ष्मी स्वर्णपदक छोरा पुरुषोत्तम र बुहारी जूना मानन्धरको हातबाट प्रदान गरिएको थियो।
उक्त अभिभावक दिवसको अवसरमा समाजका जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी , प्रमुख अतिथि साहित्यकार नवराज लम्साल तथा स्कुल प्रिन्सिपल रविन बस्नेतद्वारा सम्मान गरिएको थियो । ज्ञानमन्दिर स्कुल परिवारले हरेक वर्ष अभिभावक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको छ।
विद्यार्थीहरूले विभिन्न जातजातिका मौलिक, भेषभूषा,परंपरा, संस्कृति दर्शाउने पहिरनमा , बालगीत – संगीत, नृत्य ,खेलकुद ,स्काउटका साथै राष्ट्र र राष्ट्रियता अनुसरण गरेका गीत -संगीत प्रस्तुत गरेका थिए।

फागुन ९ गते विहानदेखि बेलुकासम्म चलेको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका अध्यक्ष गोपाल बुढाथोकी , काठमाडौँ प्याब्सन महानगर सचिव आरसी भट्ट , हिसान तारकेश्वर सचिव कमल प्रसाद ज्ञवाली , तारकेश्वर नगरपालिका प्याब्सन कोषाध्यक्ष बद्रीनाथ भट्ट लगायत शैक्षिक तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरू , टोल सुधार समितिका पदाधिकारीहरू, छिमेकी स्कुलका प्रिन्सिपलहरू , स्कुलका भूतपूर्व विद्यार्थीहरू, शुभचिन्तक , अभिभावक तथा विद्यार्थीहरूको वाक्लो उपस्थितिले ३९ औँ अभिभावक दिवसको गरिमा बढाएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहेको थियो ।
