सृजना ज्ञानसागर माध्यमिक विद्यालय, तारकेश्वर–४, पुरानो गुह्येश्वरी, काठमाडौंमा अवस्थित यस विद्यालयले प्रारम्भिक बालशिक्षाको महत्वपूर्ण उपलब्धिलाई उत्सवमय बनाउँदै यस वर्षको ECD तहको दीक्षान्त समारोह -२०८२ सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

प्रधानाध्यापक श्री राजेन्द्र प्रसाद फुयालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक गतिविधि, आत्मविश्वासपूर्ण अभिव्यक्ति तथा दीक्षान्तको उल्लासपूर्ण वातावरणले समारोहलाई विशेष अर्थपूर्ण बनाएको थियो। सबै दीक्षित विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मानित गरिएको थियो।
विद्यालयको आधारभूत तहको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रारम्भिक बालविकास तहबाट Integrated Level मा स्तरोन्नति भएका विद्यार्थीहरूको UKG Graduation Day विशेष उत्साहका साथ मनाइएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक प्राचार्य श्री राजेन्द्र प्रसाद फुयालले गर्नुभएको थियो। कार्यक्रममा प्रशासन प्रमुख श्री सिता कुमारी भुर्तेल फुयाल , आधारभूत तह संयोजक श्री जनार्दन अर्याल , अतिरिक्त क्रियाकलाप विभाग प्रमुख नबराज उप्रेती , प्रि–स्कूल इन्चार्ज लक्ष्मी कोइराला , शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसै अवसरमा विद्यालयको शैक्षिक यात्रा, मूल्य–दर्शन, सिर्जनात्मक गतिविधि, विद्यार्थी प्रतिभा, शिक्षकीय प्रतिबद्धता तथा संस्थागत उपलब्धिहरूलाई समेटेर प्रकाशन गरिएको ‘सृजना दर्पण’ नामक पुस्तकको विमोचन कार्यक्रम पनि सम्पन्न गरिएको थियो। उक्त पुस्तकको विमोचन कार्यक्रम संयुक्त रूपमा प्राचार्य श्री राजेन्द्र प्रसाद फुयाल तथा प्रशासन प्रमुख श्रीमती सीता फुयालद्वारा गरिएको थियो ।
‘सृजना दर्पण’ विद्यालयको शैक्षिक जीवनको केवल दस्तावेज मात्र नभई संस्थाको शैक्षिक चेतना, अभ्यास, दृष्टि, उपलब्धि र भविष्यको मार्गचित्र प्रतिबिम्बित गर्ने बौद्धिक दर्पणका रूपमा प्रस्तुत गरिएको पुस्तक हो । पुस्तकमा विद्यालयका बहुआयामिक शैक्षिक क्रियाकलाप, शिक्षण–सिकाइका नवीनतम् प्रयासहरू, नैतिक मूल्य, सह–शैक्षिक विकास तथा विद्यालयले बोकेको सामाजिक उत्तरदायित्वलाई समेटिएको छ।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले आफ्ना बालबालिकाको पहिलो शैक्षिक उपलब्धिलाई सम्मानपूर्वक उत्सवमा रूपान्तरण गरेकोमा खुसी व्यक्त गर्दै यस्तो अवसरले विद्यालय र अभिभावकबीचको आत्मीय सम्बन्ध अझ सुदृढ बनाउने धारणा राख्दै स्वागत मन्तव्यमा प्रि–स्कूल इन्चार्ज श्रीमती लक्ष्मी कोइरालाले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र अभिभावकबीचको सहकार्य अत्यन्त आवश्यक रहेको कुरा बताउनुभयो।
चैंत्र २५ गते सम्पन्न उक्त कार्यक्रमका सभापति तथा प्रधानाध्यापक श्री राजेन्द्र प्रसाद फुयालले आफ्नो मन्तव्यमा भन्नुभयो— “बालबालिकाको प्रारम्भिक शिक्षाको प्रत्येक चरण केवल एक तहबाट अर्को तहमा पुग्ने प्रक्रिया मात्र होइन, भविष्यका लागि संस्कार, आत्मविश्वास र मानवीय मूल्यहरूको जग बसाल्ने जीवनयात्राको प्रारम्भ हो। विद्यालयले ज्ञानार्जनसँगै चरित्र, अनुशासन, सकारात्मक जीवनदृष्टि र विद्यार्थी–केन्द्रित शिक्षण–सिकाइलाई आफ्नो शैक्षिक दर्शनको मूल आधार मानेर अघि बढिरहेको छ।”

विद्यालयले शैक्षिक उपलब्धि, भावनात्मक आत्मीयता र संस्थागत सभ्यतालाई एकै सूत्रमा बाँध्दै आयोजना गरेको प्रि–स्कूल दीक्षान्त समारोह तथा सृजना दर्पण पुस्तक विमोचन कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक श्री उद्धव फुयालले सुसंयोजित रूपमा सम्पन्न गर्नुभएको थियो।
वि.सं. २०४४ मा स्थापना भएको यो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन गर्दै गुणस्तरीय शिक्षा, अनुशासन, मूल्य–आधारित शिक्षण र समग्र व्यक्तित्व विकासका कारण विशिष्ट शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचान बनाएको छ।
