‘शिक्षा र नवप्रवर्तनमा कम्तीमा १ प्रतिशत बजेट छुट्याउन आग्रह गरेँ, तर पालिकाले सुनेनन्’
काठमाडौं । प्रायजसो मन्त्रालयवाट बाहिर ननिस्कने विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नै गृहजिल्ला म्याग्दीका स्थानीय तहले शिक्षा र नवप्रवर्तनलाई प्राथमिकता नदिएको भन्दै गुनासो गरेका छन्।
‘समृद्ध म्याग्दी निर्माणमा जनप्रतिनिधिहरूको भूमिका र जनताको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पुनले स्थानीय तहका जनप्रतिनिधिलाई विकासका लागि नयाँ सोच, प्रविधि र नवप्रवर्तनमा लगानी बढाउन आग्रह गरे।धवलागिरी गाउँपालिका समाज काठमाडौंको आयोजनामा काठमाडौंको तारकेश्वर–९ स्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा आयोजित कार्यक्रममा मन्त्री पुनले आफूले सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणा गरे पनि म्याग्दीको विकास र समृद्धिबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम भएकाले सहभागी भएको बताए।उनले आफू म्याग्दीको मात्र नभई समग्र मुलुकको विकास र समृद्धिका लागि काम गरिरहेको स्पष्ट पारे।

म्याग्दीका पालिका प्रमुखहरूलाई बजेट निर्माण गर्दा कम्तीमा एक प्रतिशत बजेट शिक्षा र नवप्रवर्तनका क्षेत्रमा छुट्याउन आफूले आग्रह गरेको स्मरण गर्दै मन्त्री पुनले त्यसअनुसार कुनै पनि पालिकाले बजेट विनियोजन नगरेको गुनासो गरे।“मैले आफैंभन्दा पनि पालिकाले बजेट छुट्याएनन्। अनि शिक्षाको विकासको कुरा गरेर मात्र विकास हुन्छ ?” उनले प्रश्न गरे।‘ठेक्कामा स्रोत दिएर मात्रै समृद्धि आउँदैन’मन्त्री पुनले स्थानीय स्रोतसाधनको दीर्घकालीन र सिर्जनशील उपयोगमा जोड दिए। आफ्नो गृह गाउँपालिका अन्नपूर्णमा प्रशस्त तातोपानीका मुहान रहेको उल्लेख गर्दै उनले त्यसको संरक्षण, प्रवर्द्धन र व्यावसायिक उपयोग गर्नुपर्ने आवश्यकता औल्याए।स्थानीय स्रोतसाधनलाई केवल ठेक्कामा दिएर मात्र समृद्धि हासिल गर्न नसकिने उनको भनाइ थियो।उनले नयाँ सोच र राम्रा योजना भएका व्यक्तिलाई अघि बढ्न आग्रह गर्दै त्यस्ता व्यक्तिहरूलाई मन्त्रालयसँग सहकार्य गर्नसमेत आह्वान गरे।म्याग्दीलाई पर्यटनको दृष्टिले अघि बढाउन पर्यटन सहकारी गठन गरी स्थानीय पर्यटन पूर्वाधार निर्माण तथा पर्वद्धनमा एकतावद्ध भई लाग्नुपर्ने उनको सुझाव थियो।आयात प्रतिस्थापनमा मन्त्रालयको प्राथमिकताछुटै छवि बनाएका मन्त्री पुनले आफू नेतृत्वमा रहेको मन्त्रालयको प्रमुख प्राथमिकता विदेशबाट आयात हुने वस्तु नेपालमै उत्पादन गर्न सकिने सम्भावनाको खोजी र प्रवर्द्धन गर्नु रहेको बताए। स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सके मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ने उनको भनाइ थियो।

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले कृषि औजार केन्द्रमार्फत नयाँ कृषि प्रविधि तथा उपकरणको आविष्कारलाई प्राथमिकता दिइएको जानकारी दिए। सानो सानो कुराहरुको आविस्कार गर्नुपर्नेमा जोड दिए । गाउँ–गाउँमा विकास र समृद्धिका गतिविधि बढाउनुपर्ने समयमा हरेक ठाउँमा मेला आयोजना गर्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे।मेलामा प्रायोजन गर्ने होडबाजीका कारण युवा पुस्ता अध्ययन र सिर्जनशील गतिविधिभन्दा मनोरञ्जनतर्फ बढी आकर्षित भइरहेको उनको भनाइ थियो। यस्ता कार्यक्रमले युवाहरु अलमलमा परेको दुखेसो पोखे । पालिका प्रमुखले सुनाए विकासका योजनाकार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।उनका अनुसार गाउँपालिका आलु, सुन्तला र गोलभेडा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। कृषि पकेट क्षेत्र निर्धारण गरी स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरण गर्ने कामसमेत अघि बढाइएको उनले बताए।विद्यालयमा शिक्षकको सुत्केरी बिदाका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले सट्टे शिक्षकको व्यवस्था गर्ने नीति लिएको अध्यक्ष पुनले बताए।उनले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई १० हजार रुपैयाँ तथा एसईईमा ३.६ जीपीए ल्याउने विद्यार्थीलाई २४ हजार रुपैयाँ नगद प्रोत्साहन दिन थालिएको जानकारी दिए।मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद पुनले स्थानीय स्रोत र उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताए।स्थानीय घरेलु मदिरालाई व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने योजना रहेको उल्लेख गर्दै उनले स्थानीय जडीबुटीको प्रयोगबाट विभिन्न उत्पादन विकास गर्न सकिने बताए।मालिकाले प्राङ्गारिक मल उत्पादन गरी अर्गानिक कृषि उत्पादनमा जोड दिइरहेको उनले जानकारी दिए। स्थानीय भाषा संरक्षणका लागि चालु आर्थिक वर्षदेखि कक्षा १ देखि ३ सम्म मगर खाम भाषाको पठनपाठन सुरु गर्न लागिएको पनि उनले बताए।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले म्याग्दीका स्थानीय तहको भूगोल र समस्या धेरै हदसम्म समान रहेकाले विकासका लागि साझा रणनीति आवश्यक रहेको बताए।उनका अनुसार धवलागिरी गाउँपालिकामा १७ वटा जलविद्युत आयोजना दर्ता भएका छन् भने ६ वटा सञ्चालनमा छन्। जलविद्युतबाट प्राप्त रोयल्टीले गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले बताए।धवलागिरी गाउँपालिकाले म्याग्दीका स्थानीय तहमध्ये सबैभन्दा पहिले आफ्नै प्रशासनिक भवन निर्माण गरेको जानकारी दिँदै अध्यक्ष पुनले आगामी असोजदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी रहेको बताए।मन्त्री पुनलाई पुस्तक बिक्रीको रकम हस्तान्तरणकार्यक्रममा मन्त्री पुनको पुस्तक बिक्रीबाट संकलित रकमसमेत हस्तान्तरण गरिएको थियो।एन्जल्स हार्ट फाउण्डेसनले पुस्तक बिक्रीबाट संकलित १ लाख रुपैयाँको चेक मन्त्री पुनलाई हस्तान्तरण गरेको थियो। धवलागिरी समाज काठमाडौंलगायत आधा दर्जनभन्दा बढी संघसंस्थाले पनि पुस्तक बिक्रीबाट प्राप्त रकम मन्त्री पुनलाई हस्तान्तरण गरेका थिए।यसै अवसरमा हिमाल आरोहणका क्रममा हालै निधन भएका पर्वतारोही निर्मल पुर्जाको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।कार्यक्रममा धवलागिरी गाउँपालिका समाज काठमाडौंका अध्यक्ष लिलबहादुर पुनले काठमाडौंमा रहेका म्याग्दीवासी, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र तथा प्रवासी म्याग्दीवासीबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिए।धवलागिरी समाज परिवारका सदस्य धनबहादुर पुनले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले म्याग्दीको पर्यटन, सडक तथा यातायात, कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, जलविद्युत, स्थानीय स्रोतसाधनको उपयोग र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए।

धवलागिरी समाजका सल्लाहकार दीप बहादुर छन्त्यालले उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। उनले प्रमुख अतिथि लगायत समग्र उपस्थित धवलागिरी र म्याग्दीवासी शुभचिन्तक तथा समग्र पाहुनाहरूलाई म्याग्दीका संघीय सांसद महावीर पुन मन्त्री भएको बेला सबै पक्ष एकजुट भई समग्र धवलागिरीको विकासलाई अगाडि बढाउनुपर्ने धारणा प्रष्ट पारे । राष्ट्रिय वरिष्ठ कलाकार खड्ग गर्बुजाले धवलागिरी कै सेरोफेरोमा लोकगीत गाएर मनोरञ्जन प्रदान गरे। त्यसैगरी बालक गायक क्रिएसन रोक्कालाई बालप्रतिभा सम्मान -पुरस्कार प्रदान गरिएको थियो। सुन्दर म्याग्दीका पुस्तक लेखक पनि उक्त समारोहमा सम्मानित भए। कार्यक्रमले म्याग्दीको पर्यटन, कृषि, शिक्षा, नवप्रवर्तन, जलविद्युत तथा स्थानीय उत्पादनको प्रवर्द्धनसँगै ,विकास निर्माणमा जनप्रतिनिधि र नागरिकबीच सहकार्य आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरेको छ। धवलागिरी समाजले राखेको यो कार्यक्रमले देशभरिका पालिकाहरूले आफ्नो समाजका शिक्षा ,स्वास्थ्य, पर्यटन ,विकास र पूर्वाधारका समग्र सरोकारका विषयहरूलाई समेट्दै, कसरी सर्वाङ्गिन विकासमा होस्टेमा हैसे गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणको रुपमा एउटा पाठ सिकाएको छ। आफ्नो समाजको उन्नति, विकास र निर्माणमा आफूले नै प्रयत्न गर्नुपर्छ ,मिलेर जानुपर्छ, एकतामा नै बल हुन्छ भन्ने दृष्टान्तको ताजा सन्देश , यो अन्तरक्रिया कार्यक्रम ,स्थानीय तहदेखि संघीय तहसम्मका जनप्रतिनिधिहरूको , समाजप्रतिको दायित्व बोधले मात्र नेता नेतृत्व पंक्तिमा अडिन सक्छ र भोलिको समाजको निर्माणको सेतु बन्न सक्छ भन्ने दृष्टिकोण प्रवाह गर्न यो कार्यक्रम सफल भएको छ ।
