काठमाडौं महानगरपालिका–१६, (बालाजु) मा रहेको नेशनल मोडेल इङलिस माध्यमिक स्कुलले ‘स्वस्थ जीवनका लागि खेल’ भन्ने मूल आशयका साथ आफ्नो ११औँ स्पोर्ट्स कार्निभल–२०८२ (खेलकुद सप्ताह) हरेक वर्ष झैँ भव्य रूपमा आरम्भ गरेको छ।

विद्यालय प्राङ्गनमा आयोजित खेलकुद सप्ताह -२०८२ को उद्घाटन समारोहमा करिब हजार विद्यार्थीले मार्चपास गरी भव्य कार्यक्रमका बीच विद्यालयका प्रिन्सिपल ,फाउण्डर, स्कुलका शिक्षकहरू तथा विद्यार्थीहरूको माझमा उद्घाटन गरिएको हो ।

उद्घाटनको सुरुवातमा प्रथम खेलका रूपमा नेपालको राष्ट्रिय खेल भलिबल खेलाइएको थियो। खेलकुद सप्ताहको अवधिमामा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको उमेर, क्षमता, रुचि अनुसार सहभागिता रहने स्कुल परिवारद्वारा जनाइएको छ।
फागुन १३ गतेदेखि करिव एक हप्तासम्म प्रतिस्पर्धा हुने उक्त खेलकुद सप्ताहभित्र भलिबल, टेबलटेनिस, बास्केटबल, तानडोरी, फुटसल, दौडलगायत विभिन्न शारिरीक ,बौद्धिक तथा सिर्जनात्मक प्रतिस्पर्धा आयोजना गरिने विद्यालय परिवारद्वारा जनाइएको छ। चित्रकला, गणितीय रेस, हाजिरिजवाफ, चेस, हिज्जे, कविता तथा निबन्ध प्रतियोगिता जस्ता ३०-३५ भन्दा बढी विधामा स्पर्धा हुने /गराइने स्कुलका प्रिन्सिपल डीएन अधिकारीले सञ्चारकर्मीलाई प्रष्ट पार्नुभएको थियो।

आफूभित्रको अन्तर्निहित क्षमता तथा प्रतिभालाई प्रस्फुटन गर्न यस्ता खाले प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक, मानसिक रुपमा स्वस्थ हुनलाई सहयोग पुर्याउँछन् भन्दै स्कुलका प्रिन्सिपल डिएन अधिकारीले उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनुका साथै सहभागी विद्यार्थीहरूलाई पनि हौसला स्वरूप पदक र प्रमाणपत्र वितरण गरिने जनाउनु भएको थियो।
गत वर्षको एसइइमा तीन जना विद्यार्थीले ४–जीपीए ल्याउन सफल भएको नेशनल मोडेल इङलिस बोर्डिङ स्कुलले विद्यालयको शैक्षिक उत्कृष्टताका साथैअतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थी भाइबहिनीहरूलाई प्रतिस्पर्धी बनाउँदै लैजाने लक्ष्य राखेको विद्यालय परिवारले जनाएको छ।राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा अब्बल खेलाडी उत्पादन गर्ने अवसरका लागि ग्रास रुट भनेकै अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीलाई सहभागी बनाएर हो भन्ने विश्वास, प्रिन्सिपल डिएन अधिकारीले सञ्चारकर्मीसँग कुराकानीमा विद्यालयको खेल परिसरवाटै आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो।
