काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकसँगै विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाको पुनःस्थापना प्रयासमा सघाउन नेसनल प्याब्सनले १ करोड १ रुपैयाँ आर्थिक योगदान गरेको छ।विपद्पछिको उद्धार, राहत तथा पुनःनिर्माण अभियानलाई सघाउने उद्देश्यले नेसनल प्याब्सनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।
बाढीका कारण मानवीय क्षतिसँगै विद्यालय भवन, शैक्षिक सामग्री तथा विभिन्न शैक्षिक पूर्वाधारमा समेत असर परेकाले संस्थागत रूपमा सहयोग गरिएको नेसनल प्याब्सनले जनाएको छ।सहयोग रकम हस्तान्तरणका क्रममा नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, उपाध्यक्ष विष्णु पराजुली, महासचिव प्रकाश खड्का, सचिव बेदप्रसाद पन्त, मनोज श्रेष्ठ, प्रदेश अध्यक्ष देव नारायण महतो लगायत पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो।बाढी प्रभावित क्षेत्रमा सामान्य जनजीवनसँगै विद्यालयको नियमित गतिविधिसमेत प्रभावित भएको छ। विद्यार्थी र उनीहरूका परिवार कठिन परिस्थितिमा रहेकाले राहतसँगै शैक्षिक गतिविधि पुनः सुचारु गर्न र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन थप पहल आवश्यक रहेको नेसनल प्याब्सनको भनाइ छ।अध्यक्ष न्यौपानेले विपद्को घडीमा राज्यको उद्धार तथा राहत अभियानमा हातेमालो गर्नु निजी क्षेत्रको सामाजिक दायित्व भएको बताए। प्रभावित विद्यार्थी तथा विद्यालयको अवस्थालाई ध्यानमा राखेर सहयोग गरिएको उल्लेख गर्दै उनले क्षतिग्रस्त शैक्षिक संरचना पुनःव्यवस्थित गर्न, विद्यालय सञ्चालन सहज बनाउन र विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आवश्यक सहकार्य गरिने बताए।नेसनल प्याब्सनले यसअघि पनि विभिन्न प्राकृतिक विपत्तिमा राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई सहयोग गर्दै आएको जनाएको छ।
भोटेकोशी बाढीपछिको योगदान पनि प्रभावित क्षेत्रको उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको संस्थाले स्पष्ट पारेको छ।बाढीबाट प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक अवस्थाप्रति समेत चासो बढिरहेका बेला नेसनल प्याब्सनको यो योगदानले शिक्षा क्षेत्रको पुनःस्थापना प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
