काठमाडौं ।तारकेश्वरस्थित सिर्जना ज्ञानसागर माध्यमिक विद्यालयले एसएलसी तथा प्लस टु तह पूरा गरेका विद्यार्थीलाई सम्मानका  साथ विदाइ गर्दै नयाँ  ११ कक्षाका विद्यार्थीलाई  स्वागत  गर्दै ‘वेलकम एन्ड फेलिसिटेसन–२०८३’ कार्यक्रम सम्पन्न गरेको छ।

तारकेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाल, हिसान तारकेश्वरका अध्यक्ष लीलबहादुर पुन, सहप्राचार्य शिवमणि घिमिरे, अभिभावक – शिक्षक संघका अध्यक्ष कृष्ण ऊचाई, विद्यालय कोर्डिनेटर उद्वव  फुयाल लगायत समग्र विद्यालय परिवार र शुभचिन्तक ,शिक्षाप्रेमीको उपस्थिति थियो।

कार्यक्रममा प्रिन्सिपल राजेन्द्र फुयालले विद्यार्थीको सफलता अंकमा मात्र सीमित नहुने भन्दै असल संस्कार, अनुशासन, मेहनत र सकारात्मक सोच नै जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए। विद्यालयले ‘सत्यम् शिवम् सुन्दरम्’ को मूल दर्शनअनुसार शिक्षासँगै सीप, संस्कार र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिँदै आएको उनको भनाइले   शिक्षालाई  समाज निर्माणको माध्यम बनाउने तर्फ संकेत गरेको थियो ।

विद्यालयका सहप्राचार्य घिमिरेले पूर्वविद्यार्थी अनिष कार्की नेपाल आर्मीको अधिकृतमा छनोट हुनुका साथै चार्टर्ड एकाउन्टेन्सी क्षेत्रमा समेत पूर्वविद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेको जानकारी दिए। उनका अनुसार विद्यालयले २०७६ सालदेखि प्लस टुमा विज्ञान विषयसमेत सञ्चालन गर्दै आएको छ।
हिसान तारकेश्वरका अध्यक्ष  लिल बहादुर पुनले सिर्जना ज्ञानसागरलाई तारकेश्वरको आदर्श शैक्षिक संस्थाका रूपमा प्रशंसा गर्दै विद्यालयले शतप्रतिशत नतिजासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत योगदान पुर्‍याएको बताए।

प्रमुख अतिथि सुदिनराज बुढाथोकीले विश्वविद्यालय तहमा प्रवेश गर्ने विद्यार्थीलाई स्वअनुशासन, सीप विकास र आत्मनिर्भर अध्ययनमा ध्यान दिन आग्रह गरे। कार्यक्रममा प्रतिभाशाली  विद्यार्थीहरूका स्वागत गीत – नृत्य  जस्ता  सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई अझै मनोरञ्जनात्मक तथा आकर्षक बनाएका थिए। विद्यालयले अध्ययन पूरा गरेका विद्यार्थीलाई विदाइ -सम्मान गर्दै आगामी शैक्षिक तथा व्यावसायिक सुखद यात्राका साथै समग्र विद्यार्थीलाई  भावी जीवनका लागि शुभेक्षा प्रकट गरेको  थियो।