तारकेश्वर, काठमाडौं ।
काठमाडौंको उत्तरतिर उच्च शिक्षाको क्षेत्रमा पहुँच र विस्तार गर्ने अभिप्रायका साथ स्थापना भएको तारकेश्वर–११ मा स्थापित ग्रामीण आदर्श बहुमुखी क्याम्पसले स्थापनाको ३३ वर्ष पूरा गरेको छ। २०५१ सालमा जम्मा ८ विद्यार्थी र ७ जना शिक्षकबाट सुरु गरिएको सामुदायिक क्याम्पस अहिले करिब ३२ सय विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने संस्थाका रूपमा संघर्षका कथासँगै परिपक्व भएर उभिएको छ ।
यो क्याम्पसले प्रथम क्याम्पस सभा सम्पन्न गर्दै सरोकारवालाले सामुदायिक क्याम्पसले स्थानीय विद्यार्थीलाई घरनजिकै गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै मुलुकको लागि आवश्यक जनशक्ति उत्पादनमा खास भूमिका निर्वाह गरिरहेको बताएका छन्।
प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री शिशिर खनालले क्याम्पस स्थापना गर्ने तत्कालीन संस्थापकहरूको योगदानको प्रशंसा गर्दै अब सामुदायिक क्याम्पसबाट प्रदान गरिने शिक्षा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बेला आएको बताए।
उनले परीक्षा उत्तीर्ण गर्नका लागि मात्र घोकन्ते शिक्षा लिने प्रवृत्तिले मुलुकको शैक्षिक विकासमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूले बदलिँदो समयअनुसार शिक्षाको स्वरूपबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे। सरकारले ऐन तथा नीति ल्याएर मात्र शैक्षिक सुधार सम्भव नहुने भन्दै विश्वविद्यालय स्वयंले पनि गुणस्तरीय र व्यावहारिक शिक्षाको दिशामा अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
तारकेश्वरको स्थापित ग्रामीण आदर्श बहुमुखी क्याम्पस तत्कालीन काँठ क्षेत्रसँगै नुवाकोट, रसुवा र धादिङलगायतका विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिने उद्देश्यले स्थापना गरिएको थियो। वरिष्ठ साहित्यकार तथा पूर्व शिक्षा तथा संस्कृति मन्त्री मोदनाथ प्रश्रितले क्याम्पसको उद्घाटन गरेका थिए।
क्याम्पसका संस्थापक प्रमुख प्रा.डा. केशवराज खड्काले स्थापना हुँदाको कठिन परिस्थितिदेखि आरोह अवरोह स्मरण गर्दै ८ विद्यार्थीबाट सुरु भएको क्याम्पसमा अहिले ३२ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सञ्चालन हुँदै आएको क्याम्पसमा प्लस टुदेखि स्नातकोत्तर तहसम्मको अध्ययन–अध्यापन हुँदै आएको यथार्थ बताए।
कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले बाइपास–गर्जुभञ्ज्याङ सडक निर्माणले त्यस क्षेत्रका बासिन्दा तथा विद्यार्थीलाई आवागमनमा सहजता पुगेको बताए। आफ्नै पहलमा उक्त मोटरबाटो निर्माण भएको उल्लेख गर्दै उनले सडक विस्तारसँगै क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि समेत शैक्षिक पहुँच सहज बनेको बताए।

क्याम्पस प्रमुख राजेन्द्रध्वज थापाले क्याम्पसको वर्तमान अवस्था र आगामी योजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै क्याम्पसलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने तयारी भइरहेको बताए। उनले त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी दिए।
स्थानीय सरकारको सहयोगमा ६० लाख रुपैयाँ लागतमा सभाहल तथा एफएम स्टुडियो निर्माण सम्पन्न भएको जानकारी दिँदै थापाले क्याम्पसको शैक्षिक क्षमता विस्तारका लागि खुला स्थानमा पर्याप्त जग्गा उपलब्ध गराई थप भौतिक संरचना निर्माण गर्न सके धेरैभन्दा धेरै विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्न सकिने बताए।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू हरिकृष्ण रावल, पूर्व संविधानसभा सदस्य एकराज भण्डारी, ध्रुवराज खड्का, साम्बराज बस्नेत, सुरेश शर्मा, प्रथम विक्रम थापा र कविराज बस्नेतलगायतको सहभागिता थियो। पूर्व क्याम्पस प्रमुखहरू नारायणप्रसाद उपाध्याय, खगेन्द्र उपाध्याय, डा. घनश्याम पुडासैनी र रामशरण घिमिरेलगायत पनि कार्यक्रममा सहभागी थिए।

त्यस्तै सशस्त्र प्रहरीका पूर्वआईजीपी राजु अर्याल, एनआर कलेजका व्यवस्थापन समिति अध्यक्ष चित्रवरध्वज थापा, एनआर क्याम्पस प्रमुख राजीव धिताल तथा जीतपुर क्याम्पस प्रमुख अर्जुन धिताललगायतको उपस्थिति थियो। कार्यक्रममा प्रथम विक्रम थापाले स्वागत मन्तव्य दिएका थिए भने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर बोहोराले सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।
तीन दशकअघि सीमित विद्यार्थी र शिक्षकबाट सुरु भएको ग्रामीण आदर्श बहुमुखी क्याम्पसको विस्तारले सामुदायिक शिक्षाले स्थानीय तहमा उच्च शिक्षाको पहुँच निर्माण गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ। अर्कोतिर आजको वैज्ञानिक शिक्षालाई समेट्दै ,अबको चुनौती भनेको बढ्दो विद्यार्थी संख्यासँगै शिक्षाको गुणस्तर, व्यावहारिकता र रोजगारीसँगको सम्बन्धलाई थप बलियो बनाई सामुदायिक उच्च शिक्षालाई समयअनुकूल अझ प्रभावकारी बनाई विविध क्याम्पसका व्यवस्थापन र पूर्वाधारसँग स्पर्धा गर्दै अघि बढाउनु आवश्यक रहेको छ ।



