काठमाडौं।
जेभियर इन्टरनेसनल कलेज बुधबार सबैलाई पछि पार्दै हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबल प्रतियोगिता २०२५ को उपाधि जित्न सफल भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल त्रिपुरेश्वरमा सम्पन्न फाइनलमा सिसिआरसीलाई जेभियरले ५६–७४ को स्कोरले पछाडि पारेको हो। जेभियरलाई उपाधि हात पार्न खेलाडी लक्की महर्जनले सर्वाधिक २३ अंक जम्मा गरे। उनीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुने अवसर पाए र हौसला स्वरूप अतिथिवाट नगद तीन हजार रुपैयाँले पुरस्कृत भए।
उपाधि हासिल गर्ने जेभियरले २५ हजार तथा उपविजेता सिसिआरसीले १३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पहिल्यै बुधबार नै भएको पहिलो सेमिफाइनलमा ग्रिनफिल्ड इन्टरनेसनल कलेजलाई जेभियरले ७२–५३ को स्कोरमा पराजित गर्दै फाइनलको यात्रातिर अगाडि बढाएको थियो। सिसिआरसीले दोस्रो सेमिफाइनलमा गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ६०–४५ को स्कोरमा पछाडि धकेलेको थियो।
काठमाडौं उपत्यकाका १६ वटा कलेजहरूको सहभागिता रहेको यो प्रतिस्पर्धा तीन दिन चलेको थियो। बुधवार समापन कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथि रहेका थिए। हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, हिसान केन्द्रीय कमिटी सह–कोषाध्यक्ष तथा आयोजक कमिटीका संयोजक नरेन्द्रबहादुर अधिकारीलगायत व्यवस्थापकीय तथा संयोजनकारी भूमिका निर्वाह गरेको संस्था आइ एस . ए . नेपाल वास्केटबल एकेडेमीका पदाधिकारीहरु , खेल प्रशिक्षक, खेलप्रेमी जनसमुदाय, विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विजेता, उपविजेता विद्यार्थी खेलाडीलाई अतिथिले हौसला प्रदान गर्दै पुरस्कार वितरण गरेका थिए ।
