तारकेश्वर शैक्षिक मञ्च / फोरमले तारकेश्वर नगरपालिका काठमाडौँको विद्याश्री पाठशाला / कलेजको संयोजनमा तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यतामा हस्तलेखन (handwriting ) प्रतियोगिता सम्पन्न गरेको छ।

तारकेश्वर शैक्षिक फोरमका अध्यक्ष तथा उक्त हस्तलेखन प्रतियोगिताका सभाध्यक्ष अवसर पौडेलले कार्यक्रमको व्यानर पढेर उद्घाटन गरिएको उक्त कार्यक्रममा विद्याश्री पाठशालाका सञ्चालक समितिका अध्यक्ष राजन गोतामेले स्वागत मन्तव्य व्यक्त गर्दै ,उहाँले विद्यार्थीको सर्वाङ्गिण विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। त्यसैगरी प्रमुख अतिथि तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले आफ्नो मन्तव्य व्यक्त गर्दै , उहाँले बालबालिकाको विभिन्न कार्यक्रममा सहभागिता हुन पाउनु उनीहरूको मौलिक अधिकार हो भन्नुभयो । उहाँले आफ्नो मन्तव्यमा यस्ता प्रतियोगिताले विद्यार्थी – विद्यार्थी र अन्तर – विद्यालयमाआफ्नो स्थिति कहाँनेर छ भन्ने कुराको परिणाम दिने भएकाले यी कार्यक्रमहरू महत्वपूर्ण छन् भन्ने धारणा व्यक्त गर्नुभयो । आफ्नो मन्तव्यमा प्रमुख अतिथि बुढाथोकीले शिक्षकको सम्मान विना विद्यालय र विद्यार्थीको पठनपाठन गुणात्मक रूपले वृद्धि हुन नसक्ने धारणा प्रष्ट पार्नुभएको थियो। शुभकामना मन्तव्य दिनेमा तारकेश्वर शैक्षिक मञ्चका सल्लाहकार तथा तारकेश्वर नगर प्याप्सनका उपाध्यक्ष नवराज न्यौपानेले आफ्नो विचार व्यक्त गर्दै हस्तलेखन राम्रो हुने विद्यार्थीहरू नै धैर्यवान , अनुशासनमा रही ,एकाग्रतापूर्वक कर्म गरेर विभिन्न क्षेत्रमा सफल हुन सक्छन् भन्ने धारणाऔल्याउनु भएको थियो , मञ्चका वरिष्ठ सल्लाहकार न्यौपानेले आपनो विचार व्यक्त गर्दै, उहाँले यस्ता सृजनशील प्रतियोगिताले विद्यार्थीलाई अगाडि बढ्ने प्रेरणा र ऊर्जा मिल्ने गर्दछ भन्नुभएको थियो।तारकेश्वर शैक्षिक मञ्च / फोरमका अध्यक्ष तथा उक्त हस्तलेखन प्रतियोगिताका सभाध्यक्ष अवसर पौडेलले प्रतियोगितामा विजय हाँसिल गरेका विद्यार्थी तथा विद्यालयलाई बधाई ज्ञापन गर्दै , उहाँले सहभागी विद्यार्थीतर्फ संकेत गर्दै सहभागिताको लागि आआफनो विद्यालयवाट छनौट हुनु पनि तपाईँहरूको विजय हो भन्दै उहाँले हस्तलेखन प्रतियोगितामा सहभागी विद्यार्थीलाई हौसला प्रदान गर्नुभएको थियो। सभाध्यक्ष पौडेलले तारकेश्वर शैक्षिक फोरमले विद्यार्थी वर्गको सृजनशीलताको साथै शिक्षक / गुरु वर्गको क्षमता विकास गर्नलाई विभिन्न तालिमहरू, सेमिनार -गोष्ठिहरू आयोजना गर्ने गरेको प्रष्ट पार्नुभएको थियो ।

तारकेश्वर शैक्षिक फोरमका उपाध्यक्ष तथा इसिए प्रमुख नारायण पोख्रेलले निर्णायक द्वय मनिषा दिश्वा र रेश्मा लामिछानेवाट प्राप्त मूल्याङ्कन अनुसार निर्णय सुनाउनु भएको थियो । उक्त निर्णयमा जुनियरतर्फ प्रथम स्थानमा माउण्ट लार्के सेकेण्डेरी स्कुलका प्रवेश बोहोरा पर्न सफल भए। द्वितीय स्थानमा गुरुकुल पब्लिक स्कुलकी खुसियाली भण्डारी पुरस्कृत भइन् , त्यसैगरी तृतीय स्थानमा पर्न सफल जेनिएल मोडन एकेडेमीकी कुमारी तामाङ र चौथो पुरस्कार हात पार्न काठमाडौँ शिक्षालयकी कुसुम श्रेष्ठ सफल भइन् । त्यसैगरी सिनियर हस्तलेखन प्रतिस्पर्धामा चौथो स्थानमा जीवन ज्योति स्कुलकी विविशा पनेरु ,तेस्रो स्थानमा नर्थ पोल एकेडेमीकी लक्ष्मी गिरी, दोस्रो पुरस्कार प्राप्त गर्न सफल माउण्ट लार्के सेकेन्डरी स्कुलकी निरा बस्नेत र पहिलो स्थानको पुरस्कार जित्नेमा स्प्रिङ भ्याली एकेडेमीकी बन्दना राई पर्न सफल भए ।

२५ वटा सदस्य विद्यालय रहेको तारकेश्वर शैक्षिक फोरमको यो हस्तलेखन प्रतियोगितामा सिनियरतर्फ १५ वटा विद्यालय र जुनियरतर्फ १७ वटा विद्यालय सहभागी भएका थिए। त्यसैगरी पुरस्कृत विद्यार्थीहरूले प्रमुख अतिथि लगायत विशिष्ट अतिथिबाट ट्रफी ,मेडल तथा सर्टिफिकेट प्राप्त गरेका थिए। सहभागिता जनाएका सवै विद्यार्थीले हौसला स्वरूप सर्टिफिकेट प्राप्त गरेका थिए । तारकेश्वर शैक्षिक फोरमका सचिव उत्तमराज पण्डितले आकर्षक तरिकाले सहजीकरण गरेको उक्त कार्यक्रममा तारकेश्वर नगर शिक्षा सहायक विद्यालय निरीक्षक ध्रुव न्यौपाने , काठमाडौँ जिल्ला प्याब्सनका सदस्य देवेन्द्र पौडेल, तारकेश्वर शैक्षिक फोरमका कोषाध्यक्ष वेदराज घिमिरे तथा समग्र शैक्षिक फोरम समितिका पदाधिकारीहरू , प्रतियोगिताको संयोजक स्कुल विद्याश्री पाठशालाका प्रिन्सिपल हरि गोतामे लगायत विभिन्न स्कुलबाट आउनुभएका प्रिन्सिपलहरू ,स्कुलका निर्देशकहरु, भाइस प्रिन्सिपलहरु ,शिक्षक – प्रतिनिधिहरु, तथा समग्र विद्यार्थी भाइबहिनीहरूको बाक्लो उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।


