Friday, April 17, 2026

तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयको एस.ई.ई. परिणाम वरिपरि फन्को मार्दा

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयले २०८१ को एसईई परीक्षाको नतिजा प्रकाशित भएपछि  तारकेश्वर नगरवासीलाई शिक्षामा सुधार हुँदै गरेको  आशा र भरोसा  जगाएको छ।

विगतका वर्षहरूभन्दा यसपालिको एसईई रिजल्टमा  तारकेश्वर नगरका  सामुदायिक विद्यालयहरूले  औसतमा राम्रो परिणाम दिएर नगरमा  निजी विद्यालय र सामुदायिक विद्यालयमा तात्विक फरक नपर्ने पठनपाठनको विकास हुँदै गरेको सन्देश यसपालिको एसईईको परिणामले प्रष्ट पारेको छ ।

सामुदायिक १५ वटा विद्यालयमध्ये अधिकांश विद्यालयहरू अब्बल बन्दै गएको , व्यवस्थापकीय क्षमताको विकास हुँदै गएको र प्रधान अध्यापकहरु तथा  शिक्षकहरुले मेहनत गर्दा यो नगरको शिक्षाको गुणस्तर बढ्न थालेको सानो तिनो चिया  पसल तथा  चौतारामा बहस  सुरु भएको छ । यो बहसले समग्र तारकेश्वर शिक्षाको विकासमा  सामुदायिक विद्यालयहरुले पनि नेतृत्व गर्न थालेको आभाष हुन थालेको छ ।

काभ्रेस्थली मावि ,जितपुरफेदी मावि ,फुटुङ्ग माविले  आफ्ना विद्यार्थीलाई १०० प्रतिशत पास गराउन सफल भएका छन् भने कालीदेवी माविले ९८ जना विद्यार्थी सहभागी भएका मध्य ७९ विद्यार्थी सफल हुँदा  दुई विद्यार्थीलाई ४  जीपीएको  पंक्तिमा निजी सरह स्थापित गरेको छ।

तारकेश्वरमा रहेका १५ वटा सामुदायिक माध्यमिक विद्यालयमा काञ्चिप्वाकल माविका१५ जना विद्यार्थीले जाँच दिएकोमा १४ जना उत्तीर्ण हुन सफल भएका छन्। त्यसैगरी साङ्ला बालकुमारी माविमा २७ जना विद्यार्थीले जाँच दिएकोमा २३ जनाले सफलता प्राप्त गरेका छन् , त्यसैगरी नेपाल राष्ट्रिय माविमा ५६ जना विद्यार्थीले जाँच दिएकोमा ४३ जना उत्तीर्ण भएको प्रधान अध्यापक गोविन्द तिमिल्सिनाले प्रष्ट पार्नुभएको  छ।त्यसैगरी मनमैजु माध्यमिक विद्यालयमा ५६ जनाले जाँच दिएकोमा ५५ जना विद्यार्थी उत्तीर्ण हुन  सफल भएका छन्, अर्कोतिर नागार्जुन माविका २१ जना विद्यार्थीहरूले परीक्षा दिएकोमा १७ जनाले सफलता प्राप्त गरेका छन्।त्यसैगरी पृथ्वीनारायण माविमा ९८ जना परीक्षार्थी मध्य ९७ जना परीक्षामा उत्तीर्ण भएका छन् ।   पुरानो गुहेश्वरी माध्यमिक विद्यालयमा २४ जना विद्यार्थीले जाँच दिएकोमा २१ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन्।अर्को कालिका शरण माध्यमिक विद्यालयले ३१ जना विद्यार्थीलाई  जाँच दिलाएकोमा ३० जना विद्यार्थीहरु सफल बनाउन सफल भएको छ। नागार्जुन ठूला गाउँ माध्यमिक विद्यालयले १६ जना विद्यार्थीलाई जाँच दिन लगाएकोमा ११ जना विद्यार्थीलाई उत्तीर्ण बनाएको छ। मानसिङ धर्म माविले १०७ जना विद्यार्थी सहभागी गराई ६९ जना विद्यार्थीको माझ सफल नतिजा प्राप्त गरेको छ। त्यसैगरी ग्राम सेवा माविबाट ५० विद्यार्थी परीक्षामा सहभागी भएका मध्य ३७ जना उत्तीर्ण  भएका छन्।

१५ वटा सामुदायिक विद्यालयको नतिजा हेर्दा सामुदायिक विद्यालयहरू निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ। अब  केही सामुदायिक  विद्यालयहरुले तीव्र सुधारका गतिमा काम गर्न सके  भने निजी विद्यालय र सामुदायिक विद्यालयबीच विद्यार्थीले तिर्ने शुल्कको मात्र ठूलो फरक हुने  अवश्था नहोला  भन्न सकिन्न , हुन त तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले तारकेश्वर नगरमा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधार्न ठूलै बजेट   खर्च छुट्‌याएको हामीलाई थाह नै छ । यसको परिणाम पनि देखिन थालेको  यो पक्कै पनि सुरुआत हुनुपर्दछ । तारकेश्वरमा हुने स्वस्थ / अस्वस्थ प्रतिस्पर्धा अब निजी विद्यालयहरूबीच मात्र होइन,  निजी विद्यालयले सामुदायिक विद्यालयहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। यो प्रतिस्पर्धाको दौरानमा सामुदायिक विद्यालयको व्यवस्थापकीय क्षमतामा सुधार र जवाफदेहिता तथा राज्यको अनुगमनले  मात्र सामुदायिक विद्यालय अगाडि बढ्न सक्छन्  भन्ने कुराको उदाहरण महानगरमा रहेका सामुदायिक  विद्यालयहरुले पनि गत सालदेखि दृष्टान्त देखाउन थालेका छन् । तारकेश्वरमा  पनि त्यही छनक पाइन्छ ।

banner

तारकेश्वरमा कम विद्यार्थी भएका निजी विद्यालयहरू आपनो अस्तित्व बचाउन मर्जमा नगए सबैभन्दा बढी हानि जेनतेन स्कुल चलाउन रहर गर्ने संस्थागत विद्यालयका  संचालकहरुले सकस  भोग्नुपर्ने बेला आएको जस्तो लाग्छ ।  यो मर्जरको अवधारणा राख्ने कारण यो हो कि निजी  विद्यालय संचालकहरू जसले लगानी लगाएका छन् ,राज्यले अंकुश थोरै  लगाउँदा पनि उनीहरूको लगानीको अस्तित्व धरापमा पर्न सक्ने प्रशस्त सम्भावना छ।धेरै विद्यार्थी भएका ठूलो संरचनाका गतिशील विद्यालयहरूलाई खासै फरक पर्ने देखिँदैन।

शुभकामना इङ्लिस बोर्डिङ स्कुल ,कौशल इङ्लिस बोर्डिङ स्कुल  ,प्रारम्भ वर्ल्ड स्कुल र नर्थ  प्वाइन्ट स्कुलबाट क्रमशः ७जना , २जना, २ जना र १जना  विद्यार्थोले ४ जीपिए प्राप्त गरेका छन्  । त्यसैगरी युनाइटेड स्कलर्स एकेडेमी  स्कुलका  १ जना विद्यार्थीले  ४ जीपीए ल्याउन सफल भएका छन । लालीगुराँस नेसनल एकेडेमीबाट  २ जना विद्यार्थीले ४ जीपिए प्राप्त गर्न सफल भएको लालीगुराँस नेशनल एकेडेमीका  व्यवस्थापक शम्भू प्रसाद आचार्यले संयम दैनिकलाई जनाउनुभएको छ । ७ विद्यार्थीले ४ जीपिए  ल्याएपछि तारकेश्वर नगरपालिकामा  शुभकामना स्कुलले अहिलेसम्मको नगरकै रेकर्ड तोडेको छ । संस्थागत विद्यालय वा निजी विद्यालयले गत सालको तुलनामा तारकेश्वर नगरमा  ४जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या समग्रमा  बढाएको पाइन्छ । संस्थागत विद्यालयलाई आज पनि राम्रो परिणाम ल्याउँदा ल्याउँदै अझ राम्रो गर्दा मात्र सामुदायिक विद्यालयसँग प्रतिस्पर्धामा जान  सकिन्छ।  यसबाट समग्र तारकेश्वर नगर शिक्षाको गुणस्तर बढ्ने सम्भावना बढ्दै गएको छ । संयम  दैनिकको कुराकानीको सन्दर्भमा कतिपय सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले अब निजी र सामुदायिक विद्यालयमा पढाइको स्तर, विद्यालयको सुविधा र अत्याधुनिक मापदण्डका शिक्षण सामाग्रीहरू सहितको  कक्षाहरु  सञ्चालन गर्ने सामर्थ्य राख्ने विद्यालयहरू  प्रशस्त  भइसकेका धारणा राख्नुभयो,  उहाँहरुले  कुराकानीमा विद्यार्थी थप भर्ना गर्न संरचना थप्नुपर्ने बेला आइसकेको जानकारी गराउनु भएको छ । यसबाट  स्वतः थाहा हुन्छ कि तारकेश्वर नगरका सामुदायिक विद्यालयहरूका बालवालिकाहरुले गुणस्तरीय शिक्षा पाइरहेका छन् । अब  अभिभावकलाई  पनि विद्यालयले उनीहरूका बालबालिकाको लागि जिम्मेवार बनाउन सक्यो भने तारकेश्वरका निजीसँगै सामुदायिक विद्यालयहरूले पनि समानान्तर रूपले फड्को मार्ने देखिन्छ । यसको प्रमाण नै राष्ट्रिय सफलता ६१ % हुँदा  तारकेश्वर नगरपालिकाको एसईईको सफलता ८५% पुगिसकेको छ ।

संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार मानेको अवस्थामा शिक्षा विधेयक आउन थालेको संघारमा यस्ता खाले परिणामलेआफै नर्सरीदेखि क – ख चिनाएर  कक्षा ८ देखि नै साँझ बिहान एक्स्ट्रा क्लास लिनुपर्ने , ९ र १० कक्षामा त   बिहान मिरमिरे देखि बेलुका ८ -९ बजेसम्म पढ्नपर्ने तैपनि  सामुदायिक विद्यालयसँगको  प्रतिस्पर्धा गर्न हम्मेहम्मे पर्न थाल्यो भने  निजी विद्यालयको शिक्षण प्रणालीमा  तथा शिक्षकहरूमा प्रश्न गर्ने ठाउँहरू अनगिन्ती छन् भन्न सकिन्छ। एकातिर निजी विद्यालयहरूले शिक्षामा संस्कारको कुरा गरेर ४ जीपिए केही पनि होइन भनेर प्रचारप्रसार गरिरहेको देखिन्छ भने अर्कोतिर ४ जीपीएकै पछि  लागेर मरिहत्य गरेको पनि देखिन्छ यस्तो प्रकारको शिक्षा सोचले विद्यार्थी तथा  अभिभावकमा अन्यौल पैदा गरेको छ । एसईई –  १० को  शिक्षालाई महाभूतजस्तो बनाएर विद्यार्थी तथा अभिभावक माथि लगातार  ८ कक्षादेखि नै निर्मम तनाव सृजना गर्नु संस्थागत विद्यालयको वालमैत्री वातवरणको सिकाइ  हासिल कहाँनिर बसेको छ ?   परीक्षाको  बेला रिभिजनका प्रश्न – उत्तरहरु साना बालबालिकाको हातमा थमाएर  ५ – ६ कक्षासम्म १०० मा  ८० -९ ५ अङ्क ल्याउने विद्यार्थीलाई ८ -९ -१० मा भालेको बिहानी डाकोसँगै बेलुका ९ बजेसम्म  पढाउने गुरु र स्कुलको   शिक्षा नीति र कार्यक्रम हुन थालेपछि विद्यार्थीहरू संस्थागत विद्यालयमा कितावरूपी वारुद गोला बोकेर पढिरहेका छन् कि   कुनै शिक्षाको रणमैदानमा किताबको भारी बोकेर युद्ध लडिरहेकाछन् ?  तपाईंहरूलाई  कस्तो लाग्छ ? तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालय र संस्थागत विद्यालयको वरिपरि फन्को मार्दा  यस्तो पो देखिन थालेको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00