काठमाडौं ।
टोखा नगरपालिका धापासीमा अवस्थित ग्रीनल्याण्ड बोर्डिङ स्कुलको २०औँ ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको विभिन्न उमेर तथा विधाका उपाधि मार्वलस, भ्याली पब्लिक र जेबी स्कुलले आफ्नो पक्षमा पारेका छन्।
शनिबार सम्पन्न प्रतियोगितामा मार्वलसले सिनियर ब्वाइजतर्फ, भ्याली पब्लिकले सिनियर गर्ल्सतर्फ तथा जेबी स्कुलले जुनियर ब्वाइजतर्फ उत्कृष्ट प्रदर्शन गर्दै उपाधि सुरक्षित गरेका हुन्।ग्रिनल्यान्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको निर्णायक खेलमा मार्वलसले न्युटनलाई ७५–४३ अंकको फराकिलो अन्तरले पन्छायो। सुरुदेखि नै खेलमा पकड बनाएको मार्वलसका सिनेप शाहीले व्यक्तिगत रूपमा २० अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।सिनियर गर्ल्सको फाइनलमा भने भ्याली पब्लिकले फेरिल्यान्डलाई ३१–२३ अंकले पछि पार्दै च्याम्पियन बन्यो।

भ्यालीकी सोनीमाया तामाङले १४ अंक बटुल्दै टोलीको जितलाई मजबुत बनाइन्।जुनियर ब्वाइजको उपाधिका लागि भएको प्रतिस्पर्धात्मक खेलमा जेबी स्कुलले एन्जल्स हार्टलाई २४–२२ अंकले पराजित गर्यो। जेबीका प्रकाश रोकायाले ८ अंक जोड्दै टोलीलाई उपाधि दिलाउन योगदान गरे।प्रतियोगितामा व्यक्तिगत विधातर्फ सिनियर ब्वाइजमा मार्वलसका नवीन कार्की, सिनियर गर्ल्समा भ्याली पब्लिककी सोनीमाया तामाङ तथा जुनियर ब्वाइजमा जेबीका भीम रोकाया ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए।त्यस्तै, सिनियर ब्वाइजमा मार्वलसका सिनेप शाही, सिनियर गर्ल्समा फेरिल्यान्डकी सन्दिपा राई र जुनियर ब्वाइजमा जेबीका आरभ राणा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ बने। सर्वाधिक स्कोर गर्ने खेलाडीमा सिनियर ब्वाइजतर्फ न्युटनका युनिक कार्की, सिनियर गर्ल्समा भ्यालीकी दृश्य गुरुङ र जुनियर ब्वाइजमा जेबीका सौरभ श्रेष्ठ रहे।खेलको कडा प्रतिस्पर्धावाट उपाधि -विजेता , उपविजेता तथा उत्कृष्ट खेलाडीलाई काठमाडौं जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख सुरेशकुमार जोशी, तार्केश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथोकी, प्याक्सन जिल्ला उपाध्यक्ष धनबहादुर पुन , न्युटन स्कुलका प्रिन्सिपल राम केसी ,केन्द्रीय प्याब्सनका उपाध्यक्ष एवं आयोजक ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
