तारकेश्वरको जरङ्खुस्थित कौशल इङ्लिस बोर्डिङ स्कुलले एक समारोहका बीच आफ्नै प्राङ्गणमा १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ।
माघ २६ गते सम्पन्न समारोहमा , स्कुलका व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त अभिभावक दिवस सभाका सभाध्यक्ष कृष्णप्रसाद अधिकारी रहनुभएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति तथा वरिष्ठ साहित्यकार डाक्टर कुलप्रसाद कोइराला र विशेष अतिथि नेपाल संस्कृत विश्वविद्यालयका प्रा . डा .नवराज कट्टेल रहनुभएको थियो।

स्कुलकै भाइस प्रिन्सिपल डा . भरत प्रसाद भण्डारीले उपस्थित पाहुनालाई स्वागत मन्तव्य राख्दै , उहाँले कक्षा कोठाभित्र बसेर पढिने शिक्षाभन्दा जीवन उपयोगी शिक्षामा जोड दिने वेला आएको सन्दर्भ औल्याउनुभयो । अतिथिहरूलाई स्वागत मन्तव्य दिनेमा दिपिका अर्याल कक्षा नौकी छात्रा लगायत स्वागत नृत्य तथा स्वागत गीतबाट पनि अतिथि वर्गको स्वागत गरिएको थियो ।

प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयपूर्व उपकुलपति तथा वरिष्ठ साहित्यकार डाक्टर कुलप्रसाद कोइरालाले आफ्नो मन्तव्य राख्दै, उहाँले संस्कृत भाषा एकचोटि विश्व भाषा बन्यो भन्दै, उहाँले एउटा वेददेखि अर्को वेद सुरु हुन १०० देखि १५० वर्ष लागेको सन्दर्भ प्रकाश पार्नुभयो । प्रमुख अतिथी कोइरालाले , वेद भनेकै ज्ञान हो भन्नुभयो। उहाँले आफ्नो मन्तव्यमा , खैरेले योगलाई योगा बनाएपछि बल्ल हामीले थाहा पायौ भन्दै दक्षिण पूर्वी एसियाको २०० भाषा संस्कृत भाषाबाट जन्मिएका हुन् भन्दै संस्कृत भाषाको मूल भाषा हो भन्नुभयो । प्रमुख अतिथि डाक्टर कोइरालाले ऋग्वेदले ६००० देखि ८००० वर्ष पहिले वातावरणको विषयमा हामीलाई रिग्वेदले भनिसकेको थियो , अहिले आएर पश्चिमाहरु ग्लोबल वार्मिङको कुरा गर्दैछन् भन्नुभयो। अर्काको नक्कल गरेर हामी दास भएका हौँ भन्दै उहाँले वेदको महत्व बुझेर , अब स्कुल स्कुलमा पनि संस्कृत पढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी विशेष अतिथिको रुपमा रहनुभएका डाक्टर नवराज कट्टेलले ज्ञान अनन्त रुपमा फैलिएको धारणा राख्नुभएको थियो । उहाँले गुरुको ज्ञानले आफ्नो ज्ञानको वृद्धि विकास गराउँछ भन्दै उहाँले विद्यार्थीको लागि असल शिक्षक /गुरुको आवश्यकता रहेको तथ्य औल्याउनु भएको थियो ।

स्कूलका प्रिन्सिपल शिवप्रसाद अर्यालले आफ्नो स्कुलको इतिहास सम्झँदै विद्यालयलाई कुन ठाउँमा पुर्याउनुपर्ने हो ,हामीसँग योजनाहरू छन् भन्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा समय अनुसार शिक्षामा परिवर्तन हुन नसके शिक्षा पनि काम नलाग्ने हुन सक्ने धारणा व्यक्त गर्नुभएको थियो। त्यसैगरी उहाँले विद्यार्थी सृजनशील बनाउनु हाम्रो दायित्व हो भन्दैआजको मोबाइल फोनले बालबालिकाको पढाइमा अवरोध खडा भएको विचार व्यक्त गर्नुभएको थियो।अभिभावकहरूले खचाखच भरिएको प्राङ्गणमा स्वागत मन्तव्य दिने अतिथिको क्रममा तारकेश्वर नगर प्याप्सनका अध्यक्ष गोपाल बुढाथोकी काठमाडौँ प्याप्सन वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा ,तारकेश्वर हिसान अध्यक्ष लिलबहादुर पुन लगायतले आगामी दिनहरुमा कौशल इङ्लिस माविले अझै – प्रगति गर्दै जाने अपेक्षा व्यक्त गर्नुभएको थियो।

विद्यालयले १० वर्ष लगातार काम गरेका १३ जना शिक्षक तथा कर्मचारीहरूलाई हौसला प्रदान गर्दै सम्मान पत्र तथा नगद ५००० पाँच हजार प्रदान गरेको थियो। उक्त सम्मान पत्रमा लेखिएका शब्दहरु प्रिन्सिपल शिवप्रसाद अर्यालले पढेर सुनाउनु भएको थियो ।
विद्यालय परिवारले तयार पारेको स्मारिका विमोचन प्रमुख अतिथि तथा अतिथिद्वारा गरिएको थियो ।

एस ईईमा राम्रो रिजल्ट ल्याउन सफल विषयगत शिक्षकलाई प्रोत्साह तथा हौसला स्वरूप नगदले पुरस्कृत गरिएको थियो ।
२०५८ सालमा सुरुमा स्कूल स्थापना गरेका साधुराम खत्री जसले १६ जना बालबालिकाबाट विद्यालय स्थापना गर्नुभएको थियो । २०६३ सालबाट नयाँ व्यवस्थापन सहित सञ्चालन भइरहेको विद्यालयले १२ कक्षासम्म पढाइरहेको छ र जसले तारकेश्वर नगरपालिकामा तथा देशभर आफ्नो परिचय स्थापित गरिसकेको छ ।
सत्रौँ वार्षिक उत्सव तथा अभिभावक दिवसमा कौशल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी भाइबहिनीहरूले विभिन्न मौलिक भेषभुषामा रहेर सांस्कृतिक नृत्यहरू ,गीत संगीतका कार्यक्रमहरू, सामाजिक कुरीति विरुद्धका नाटकहरू, आधुनिक ब्यान्डबाजा सहितका पश्चिमेली गीतसंगीतका कार्यक्रमहरु, कविता, खेल -नृत्य ,तेक्वान्दो प्रदर्शनी, योगा , शास्त्रीय नृत्यहरू, सारङ्गीका धुनमा गीतसंगीतका कार्यक्रमहरू , स्वस्तिवाचन र श्रीमद्भागवत गीताका श्लोकहरु समेत प्रस्तुत गरेका थिए। कौशल शिक्षकका गीत तथा नृत्य प्रस्तुत गरिएको यो १७ औँ वार्षिक उत्सव साँच्चिकै उत्सवमय भएको थियो ।

स्कूलका शिक्षक सुरेश न्यौपानेले कार्यक्रम सहजीकरण गरेको यो समारोहमा स्कूलकै विद्यार्थीहरुले पनि वेलाबेला कुशलता पूर्वक सहजीकरण गरेका थिए । कार्यक्रम समापन गर्दै स्कूल व्यवस्थापन समिति अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्कूल परिवारका शिक्षक , कर्मचारी , अभिभावक तथा विद्यार्थीलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दछु भनुभयो । उहाँले आ -आफ्नो तर्फवाट विद्यालय परिवारका सबै सदस्यहरुले स्कूलको उन्नति र विकासमा अझै राम्रो कर्म गर्दै जाने अपेक्षा व्यक्त गर्नुभयो।

बिहानै कार्यक्रम सुरु हुन अलि ढिला भएपनि बेलुका झमक्क रात परुन्जेल अभिभावकहरु बसेर आफ्ना बालबालिकाको प्रतिभाको प्रस्तुति नियालिरहेको देखिन्थ्यो । उक्त कार्यक्रममा काठमाडौँ प्याब्सनका पदाधिकारीहरु,, महानगर प्याब्सनका पदाधिकारीहरु ,तारकेश्वर प्याब्सनका पदाधिकारीहरू ,तारकेश्वर शैक्षिक मञ्चका पदाधिकारीहरू, ओप्स पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरू लगायत विभिन्न समाजसेवी, जनप्रतिनिधिहरू , उद्योग व्यवसायीहरु र शिक्षा प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।



