काठमाडौं, साउन ३ – अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) ले एसईई – २०८२ व्याचमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय, गुरु वर्ग तथा दीर्घ सेवा पुऱ्याएका कर्मचारीलाई सम्मान गरेको छ।

तारकेश्वरको शेषमतीस्थित दियालो फुडल्यान्डमा आयोजित ‘बधाई तथा सम्मान कार्यक्रम–२०८३’ मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी, औसत जीपीएका आधारमा उत्कृष्ट विद्यालय, विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउन मार्ग दर्शन गर्ने गुरु वर्ग तथा २४ जना दीर्घ सेवा गर्ने शिक्षक–कर्मचारीलाई सम्मान गरिएको हो।

कार्यक्रमको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियो। उहाँले गुणस्तरीय शिक्षा विकासका लागि स्थानीय सरकार संस्थागत विद्यालयसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख सुरेश कुमार जोशीले उत्कृष्ट नतिजाका लागि विद्यार्थी, अभिभावक र विद्यालयको संयुक्त प्रयासको प्रशंसा गर्दै नैतिक तथा व्यावहारिक शिक्षामा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो। त्यसैगरी तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले ४ जिपिए ल्याएर पुरस्कृत हुने विद्यार्थीहरूतर्फ संकेत गर्दै उहाँले आगामी परीक्षाहरूमा पनि उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा ओप्सका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष लोकेन्द्र बहादुर खड्काले ओप्सको औचित्य र गरिमालाई प्रकाश पार्दै , उहाँले संस्थागत विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तर योगदान दिइरहेको दाबी गर्दै , उहाँले आगामी दिनमा सिर्जनात्मक शिक्षालाई प्राथमिकतामा राखिएको सन्दर्भ बताउनुभयो।उक्त बधाई तथा सम्मान कार्यक्रमका संयोजक रविन बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्दै , उहाँले संस्कारयुक्त समाजको आधारशिला विद्यालय हो भन्नुभएको थियो। काठमाडौँ जिल्ला प्याव्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले ओप्स विद्यार्थी लगायत ओप्स सम्मानित परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। ओप्सका उपाध्यक्ष विष्णुचन्द्र अधिकारीले उपस्थि अतिथि लगायत सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा विभिन्न १५ विद्यालयका ४.०० जीपीए प्राप्त विद्यार्थीलाई सम्मान गरिएको थियो। औसत जीपीएका आधारमा मन्जरी सेकेन्डरी स्कुल, हिमरश्मी हाई स्कुल लगायतका विद्यालय उत्कृष्ट घोषित भए भने विभिन्न विषयमा उत्कृष्ट नतिजा दिलाउने , मार्गदर्शन गर्ने शिक्षकहरू पनि सम्मानित भए।

यसैगरी ओप्समा आबद्ध विद्यालयमा लामो समयदेखि सेवा गर्दै आएका २४ जना शिक्षक तथा प्रशासनिक कर्मचारीलाई ‘ओप्स दीर्घ सेवा पदक’ र सम्मान–पत्र प्रदान गरिएको थियो।
ओप्स परिवारका प्रतिभाशाली विद्यार्थीहरूले गीतसंगीत र नृत्यबाट मनोरञ्जन प्रदान गरेका थिए।कार्यक्रममा शिक्षा क्षेत्रका , निजी विद्यालय तथा प्याब्सनसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि, विद्यालय सञ्चालक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त बधाई तथा सम्मान कार्यक्रमको सञ्चालन ओप्स – सचिव शिव प्रसाद अर्यालले आकर्षक ढङ्गले गर्नु भएको थियो ।
