काठमाडौँ ।
तारकेश्वर नगरपालिका – ९ स्थित मनमैजु माध्यमिक विद्यालयद्वारा ७० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस एक समारोहका विच सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन रहनुभएको थियो भने , विशेष अतिथिहरुमा उपप्रमुख सिर्जना बुर्लाकोटी, तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकी , तारकेश्वर नगरपालिका प्रशासकीय प्रमुख धर्मराज लम्साल , काठमाडौँ जिल्ला समन्वय इकाइ शिक्षा समिति प्रमुख शुरेश जोशी , पूर्व तारकेश्वर शिक्षा प्रमुख होमनाथ न्यौपाने तथा पदम खत्री , तारकेश्वर नगरपालिका भित्रका सामुदायिक / निजी छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, अभिभावक, शिक्षक -शिक्षिकाहरु, विद्यार्थी तथा स्थानीय समुदायको वाक्लो उपस्थिति रहेको थियो।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त वार्षिक उत्सव तथा अभिभावक दिवसका सभाध्यक्ष भक्तमान महर्जनले आफ्नो मन्तव्यमा मनमैजु माध्यमिक विद्यालयले कक्षा ८ , १०, १२ सम्मका विद्यार्थीले नतिजाहरुमा उत्कृष्टता ल्याएकोमा मार्गदर्शन गर्ने स्कुलका शिक्षकहरू लगायत सम्पूर्ण स्कुल परिवारलाई हार्दिक धन्यवाद तथा विद्यार्थी भाइवहिनीको उज्ज्वल भविष्यको कामना गर्नु भएको थियो । उहाँले आफ्नो मन्तव्यमा स्थानीय सरकारले स्कुलको भौतिक संरचनाको विकासमा पुऱ्याएको सहयोगलाई प्रशंसा गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि कृष्णहरि महर्जनले आफ्नो धारणा राख्दै , उहाँले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने संकल्प व्यक्त गर्दै, पछिल्ला वर्षहरूमा तारकेश्वरका सामुदायिक विद्यालयहरूको नतिजामा सुधार आउँदा तारकेश्वरमा निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने भएकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको प्रष्ट पार्नुभयो। उहाँले आपनो मन्तव्यमा तारकेश्वर नगरपालिकाले खेलकुद क्षेत्रमा पनि जिल्लामै अब्वल बन्दै गएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यसैगरी शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दै उहाँले तारकेश्वर नगरपालिकामा शिक्षाको गुणस्तरमा सामुदायिक तथा संस्थागत विद्यालयमा समानता रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

लामो इतिहास बोकेको यो विद्यालयकी प्रधानाध्यापक रविना महर्जनले आफ्नो मन्तव्य राख्दै, उपस्थित अभिभावक, पाहुना तथा विद्यार्थीहरूको माझ विद्यालयमा , आर्थिक समस्या पर्दा स्थानीय सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले आफ्नो मन्तव्यमा आगामी दिनमा गुणस्तर अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अभिभावक सङ्घका अध्यक्ष लक्ष्मण राणाले आफ्नो मन्तव्यमा अभिभावकतर्फ संकेत गर्दै उहाँले आफ्नो बालबालिकालाई नपढाउने आमाबाबु शत्रु समान हुन्छन् भन्ने तथ्य प्रष्ट पार्दै शिक्षामा नैतिकता र कर्तव्यका सर्वाङ्गीन विषयलाई उठाउँदै सबै पक्षले जिम्मेवारी बोध गर्नुपर्ने धारणा प्रष्ट पार्नुभएको थियो।

मनमैजु माध्यमिक विद्यालयले उपस्थित अतिथिवाट मममैजु आलोक नामक एक पुस्तक पनि विमोचन गरेको छ। उक्त अवसरमा विद्यालय परिवार ले कक्षा ८, १० र १२ का महत्वपूर्ण परीक्षामा उत्कृष्ट नतिजा ल्याउनको लागि दिनरात मेहनत गर्नुहुने तथा मार्गदर्शन गर्नुहुने शिक्षकहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ।
आषाढ २० गते सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर शिक्षा संयोजक राजेन्द्र तिमल्सिना लगायत पूर्व विद्यालय व्यवस्थापनका पदाधिकारीहरू ,अक्षय कोष दाताहरू ,विभिन्न संघसंस्थाका जनप्रतिनिधि लगायत टोल सुधार समितिका अध्यक्ष, समाजका शिक्षाप्रेमी महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरी नृत्य, गीत, विभिन्न सांस्कृतिक प्रस्तुती गर्दै कार्यक्रमलाई रमाइलो बनाएका थिए । विद्यार्थीले कार्यक्रममा स्वागत मन्तव्य , स्वागत नृत्य , स्वयंसेवकको भूमिका निर्वाह समेत गरेका थिए ।

२०१३ सालमा स्थापना भएको यो स्कुलका शुभ चिन्तकहरुले विभिन्न उद्देश्यका साथ अक्षयकोष खडा गर्नु भएको जनाइएको छ । अमेरिकावाट आएको सहयोगले अक्षयकोष खडा गर्ने सन्दर्भमा स्कुलमा सहयोगी तहमा काम गर्ने आयादिदी , सुरक्षा गार्ड जस्ता कर्मचारीको ६५००० (पैसठ्ठी हजारको ) अक्षय कोष सुरु गरिएको प्रधानाध्यापक रविना महर्जनले कार्यक्रममा जनाउनु भएको थियो। कार्यक्रममा जग्गा दातालाई स्कुल परिवारले सम्मान पत्र सहित सम्मान व्यक्त गरेको थियो।

कार्यक्रमको सहजीकरण स्कुलका सहायक प्रधानाध्यापक सन्दीप सापकोटाले आकर्षक रूपले गर्नुभएको थियो भने समस्त अभिभावक वर्गबाट उत्साहपूर्ण सहभागिता देखिएको थियो।
