माधव घिमिरे ‘अटल ‘ काठमाडौँ ।
प्रतिष्ठित लघुकथाकार खेमराज पोखरेलको पहिलो कथासङ्ग्रह ‘अर्कै सत्य’को सार्वजनीकरण आज राजधानीमा एक विशेष समारोहबीच सम्पन्न भएको छ ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भागीरथी श्रेष्ठले सबैभन्दा पहिले दर्बिलो पुस्तकका निम्ति बधाई दिइन् । पोखरेल अत्यन्त ऊर्जाशील, सहयोगी, सौहार्दपूर्ण र प्रेमिल भएको बताउँदै निकै परिष्कृत समालोचक भएको श्रेष्ठको कथन थियो । सत्यलाई उनले निकै राम्ररी पर्गेल्न सकेकैले पोखरेलले अर्को सत्य देख्न सकेको श्रेष्ठको कथन थियो । नाटक र निबन्धमा पनि उनले कथा लेख्ने र देख्ने गरेको श्रेष्ठको भनाइ थियो ।
समयानुसार समकालीन सत्यलाई स्विकार्ने ल्याकत राख्न पोखरेलले उत्प्रेरित गरेको भन्दै श्रेष्ठले कथा आफूलाई निकै मन परेको बताइन् ।प्रा.डा. सुरेन्द्र के.सी.ले ठट्यौलो भाषामा आफूले मञ्च पाएको भन्दै आफू आजको डायास्पोराको पोखरेल जस्तै इतिहासको प्राध्यापक रहेको बताए । मान्छेहरू यतिखेर कति परपीडक बनेका छन् भन्ने दृष्टान्त प्रस्तुत गर्दै के.सी.ले समाज अधोगतितिर गएको दुर्दशा राखे । उनले वर्तमान राजनीतिप्रति खुलेर व्यङ्ग्य गर्दै राजनीतिले पनि हामीलाई अर्को सत्य सिकाइरहेको के.सी.ले तर्क गरे । यहाँ अनपेक्षित पनपच्छे भएको कारणले पोखरेल अमेरिका भासिएको अर्को सत्य भएको बताए ।बहुआयामिक साहित्यकार डा. दीनबन्धु शर्माले विवेचकीय मन्तव्य राख्ने सिलसिलामा अर्कै सत्यमा हामीले बाँचेको सत्यलाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरिएको बताए । शर्माले हरेक कथामा यौनिक विषय आएका तर खास अभीष्ट चाहिँ मनोव्याख्यात्मक भएको तर्क गरे । योभन्दा धेरैपछिको युगलाई अधिकांश कथाहरूले बोल्छन् भन्ने शर्माको भनाइ रह्यो । जुन गोरेटोमा समाज यात्रा गरिरहेको छ त्यही समाजको तस्बिर पोखरेलले खिच्न सकेको दाबी गर्दै शर्माले कथाहरू अतियथार्थवादी भान हुने बताए । उत्तर आधुनिकतावादी लेखनलाई प्रगतिशील सर्जकहरू पुँजीवादीको जामा भिराउँछन् भन्दै शर्माले मरेपछि अवचेतन मनले नेतालाई गाली गरेको कथा यहाँ रहेको स्मरण गरे ।

कथासङ्ग्रहमा सत्यको विघटन भएको तर्क गर्दै सत्य भनेको आआफ्ना पायकअनुसार अर्थ्याएको बताए । उत्तर आधुनिकतावादले भाषाले निश्चित अर्थ नदिने र कथाहरू पनि टुक्रिएको शर्माले बताए । कृति सफलताको शुभकामना मन्तव्य दिने सिलसिलामा चर्चित साहित्यकार तथा समालोचक श्रीओम श्रेष्ठ ‘रोदन’ले खेमराजको गतिमय सिर्जनशीलता र योगदानको मुक्तकण्ठले प्रशंसा गरे । रोदनले प्रहरीको आँकडा उद्धृत गर्दै पोखरेलले अमेरिकामा बसेर पनि सिर्जनामा वर्तमान नेपाली समाजको तस्बिर उतार्न सकेकामा उनको बखान गरे ।सबैलाई धन्यवाद अर्पण गर्दै कृतिकार खेमराज पोखरेलले भुँडीपुराणका केशव पराजुलीप्रति भने उनलाई हौस्याउँदै विशेष आभार प्रकट गरे ।आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले विशेष गरी भागीरथी श्रेष्ठ, प्रा.डा. सुरेन्द्र के.सी., डा. दीनबन्धु शर्मा, विश्वराज अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, अनिता कोइराला, पुष्कर लोहनीलगायत एन्जल निलुलाई विशेष धन्यवाद टक्र्याए । रचनागर्भ र प्रकाशनगर्भका बारे सङ्क्षिप्तमा प्रकाश पार्दै पोखरेलले हामीले जेजे सत्य भनिरहेका छौँ ती होइनन् कि भन्ने लागेको नाम नलिईकन आफ्ना मित्रहरूको दृष्टान्त दिँदै प्रस्तुत गरे । प्रकाशनबारेको तथ्य खोतल्दै पोखरेलले डा. दीनबन्धु शर्मा र विश्वराजले अपूरो रकम उठाएर हौस्याएकाले र केशव पराजुलीले आँटेकाले यो कृति छापिएको बताए ।
परम्परावाद र आदर्शवादले मात्र होइन यथास्थितिवादले समेत यसलाई हजम नगर्ने उनको कथन थियो । आफू स्वच्छन्दतावादी रहेको दाबी गर्दै उनले आफूलाई कसैले आलोचना गरे पनि आफू किमार्थ बेखुसी नहुने उनको कथन थियो । कृतिको परिचर्चा गर्दै समालोचक अनिता कोइरालाले उत्तर आधुनिक विषयमा निकै दर्बिला कथा लेखेको भन्दै सम्बन्ध किन भाँचिन्छ भनेर मान्छेको मनभित्र प्रवेश गरेकाले मनोपरामर्शदाताले यी कथाहरू अध्ययन गर्नुपर्ने तर्क गरिन् । ऊ बेलाको कर्ण महाभारतको लडाइँमा थियो भने आजका कर्णहरू पेट भर्नका निम्ति कतारमा पसिना सिँचिरहेछन् । हामीले बनाएको यो समाज हजारौं वर्षदेखि बनेकाले अझ परिष्कार गर्दै अघि बढ्नुपर्ने तर्क कथाहरूमा गरिएको कोइरालाको कथन थियो ।स्वागत मन्तव्य दिने सिलसिलामा खासगरी बज्जिका भाषाका ज्ञाता साहित्यकार विश्वराज अधिकारीले पोखरेलको सराहना मात्र गरेनन् बरु आफूहरूको मित्रता थप मजबुत बनोस् भन्ने कामना गरे ।एन्जल निलुले सहजीकरण गरेको सो कार्यक्रमको भुँडीपुराणका प्रबन्धक एवं पुस्तक प्रकाशन तथा वितरण समाजका उपाध्यक्ष केशव पराजुलीले बिट मारे ।
