Thursday, July 30, 2026

कौशल बोर्डिङ स्कुललाई प्रथम कौशल अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

कौशल बोर्डिङ स्कुलको आयोजनामा सम्पन्न प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक विद्यालयले आफ्नै नाममा दर्ता गरेको छ। शनिबार सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कौशलले अफिसियलतर्फ समग्र च्याम्पियन बन्न सफल भएको हो।

अफिसियल विधातर्फ कौशलले ७ स्वर्ण, ७ रजत र ४ कांस्य पदक जित्दै उपाधि हात पार्‍यो। ग्रिन हिल्स स्कुल २ स्वर्ण र २ रजतसहित दोस्रो तथा नागार्जुन भ्याली एकेडेमी २ स्वर्ण, १ रजत र ३ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो। पुरुषतर्फ प्रारम्भ वर्ल्डका आयु राय र महिलातर्फ कौशलकी सकुरा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए।

नन अफिसियलतर्फ ज्ञानचक्षु स्कुलले १३ स्वर्ण, १८ रजत र ५ कांस्य पदकसहित च्याम्पियन बन्न सफल भयो। १३ स्वर्ण, १३ रजत र १० कांस्य जितेको मोर्गन स्कुल दोस्रो तथा ११ स्वर्ण, ३ रजत र ८ कांस्यसहित स्वर्णदीप तेस्रो स्थानमा रह्यो। यस विधामा पुरुषतर्फ नागार्जुन भ्यालीका विगेश राई र महिलातर्फ मोर्गनकी आरुषि अम्गाईं उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगिताको समापन समारोहमा बोल्दै कौशल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल शिवप्रसाद अर्यालले विद्यालयले शिक्षासँगै खेलकुदलाई पनि समान प्राथमिकता दिएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । विशिष्ट अतिथि तथा तारकेश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले नगरपालिकाले विद्यालयस्तरीय खेलकुद गतिविधिलाई निरन्तर प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै प्रतियोगिताको सफल आयोजनाको प्रशंसा गरे।

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै विजयी खेलाडीलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिए। उनले प्रतियोगितालाई सफल बनाउन भूमिका निर्वाह गर्ने अतिथि, निर्णायक, रेफ्री, शिक्षक, अभिभावक, स्वयंसेवक तथा सम्पूर्ण खेलप्रेमीप्रति धन्यवाद ज्ञापन गरे।

विजेता खेलाडीलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रिन्सिपल शिवप्रसाद अर्याल, भाइस प्रिन्सिपल डा. भरतप्रसाद भण्डारी, शिक्षा प्रमुख सुदिनराज बुढाथोकी तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए।

banner


प्रतियोगिता संयोजक राजकुमार ठकुरीका अनुसार एकदिवसीय प्रतियोगितामा काठमाडौं जिल्लाका २१ विद्यालयका करिब ४ सय खेलाडीको सहभागिता रहेको थियो। उदय तामाङले सञ्चालन गरेको प्रतियोगिता सौहार्दपूर्ण र विवादरहित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00