Friday, July 31, 2026

ओप्स बेसिक लेभल फुटसल प्रतियोगिता साउन १६–१७ मा, २६ विद्यालय प्रतिस्पर्धामा सहभागी हुँदै

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं, साउन १४ — अर्गनाइजेसन अफ प्राइभेट स्कूल (ओप्स) को आयोजना तथा प्रारम्भ वर्ल्ड स्कूल एण्ड कलेजको संयोजनमा ‘OPS Basic Level Futsal Tournament–2083’ आयोजना हुने भएको छ। प्रतियोगिता साउन १६ र १७ गते प्रारम्भ वर्ल्ड स्कूल एण्ड कलेजको फुटसल मैदानमा सञ्चालन हुने जनाइएको छ ।

स्पर्धा वारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रारम्भ वर्ल्ड स्कूल एण्ड कलेजका प्रधानाध्यापक कमलप्रसाद ज्ञवालीले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र सफल बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै खेलकुदमार्फत विद्यार्थीको प्रतिभा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। ज्ञवालीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य ओप्समा आबद्ध विद्यालयहरूबीच आपसी भाइचारा, सहकार्य र सद्भावलाई थप सुदृढ बनाई  , विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण प्रदान गर्नु हो। अतिरिक्त तथा सह–क्रियाकलापलाई प्रभावकारी बनाउँदै विद्यार्थीहरूको बहुमुखी  विकासमा योगदान पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे।

ओप्सका अध्यक्ष तथा उक्त पत्रकार सम्मेलनका  सभाध्यक्ष पत्रकार सम्मेलनको सभा विर्सजन गर्दै ,लोकेन्द्रबहादुर खड्काले निजी विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा र खेल संस्कृतिको विकासका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने बताए। प्रतियोगिताका क्रममा देखिने कमजोरीलाई समयमै सुधार गर्दै संस्थालाई अझ प्रभावकारी र सक्रिय बनाइने प्रतिबद्धता पनि उनले जनाए।

यस वर्षको प्रतियोगितामा ओप्समा आबद्ध २९ विद्यालय मध्य  २६ विद्यालयका कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिग चरणका खेल सञ्चालन गरिनेछ। प्रत्येक समूहबाट विजेता र उपविजेता टोली प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् भने त्यसपछि नकआउट चरणमार्फत च्याम्पियनको टुङ्गो लाग्नेछ।

उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। सहभागी सबै खेलाडीलाई मेडल वितरण गरिनेछ भने उत्कृष्ट खेलाडीलाई ‘बेस्ट प्लेयर’ र उत्कृष्ट गोलरक्षकलाई ‘बेस्ट गोलकिपर’ को उपाधिसहित सम्मान गरिने आयोजकले जनाएको छ।

banner

प्याब्सन केन्द्रका महासचिव आरबी कटवालको प्रमुख आतिथ्यमा १७ गतेको कार्यक्रम समापन गरिने आयोजकले बताएको छ । आयोजकका अनुसार प्रत्येक टोलीबाट ४ हजार रुपैयाँ दर्ता शुल्क लिइनेछ। २६ टोलीबाट १ लाख ४ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने प्रतियोगिताको कुल खर्च करिब १ लाख ७५ हजार रुपैयाँ रहनेछ। अपुग रकम प्रारम्भ वर्ल्ड स्कूल एण्ड कलेजले व्यहोर्ने जनाएको छ।

ओप्स इसिए विभाग प्रमुख राजेश रायमाझीले साना ठूला सबै खाले विद्यार्थिको क्षमता तथा विकासमा ओप्सद्वारा कार्यक्रमहरू आयोजना गरिदै आएको सन्दर्भ उल्लेख गरेका थिए ।

पत्रकार सम्मेलनमार्फत आयोजकले खेलकुदले विद्यार्थीमा स्वास्थ्य, अनुशासन, नेतृत्व क्षमता र भाइचाराको भावनाको  वृहत विकास गर्ने विश्वास व्यक्त गर्दै विद्यालय, विद्यार्थी, अभिभावक, खेलप्रेमी तथा सञ्चारकर्मीलाई प्रतियोगितामा सक्रिय सहभागिता र सहयोगका लागि अपेक्षा  गरेको छ।
प्रारम्भ वर्ल्ड स्कुलका कोर्डिनेटर  गोकर्ण ढकालद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा प्रारम्भ वर्ल्ड  स्कुलका कोच प्रोसेस श्रेष्ठले खेलका सीमा – समयका सन्दर्भहरूलाई प्रष्ट पार्नुभएको थियो।

काठमाडौं  जिल्ला प्याव्सनका उपाध्यक्ष धनबहादुर पुन , तारकेश्वर नगरपालिकाका खेलकुद विकास समितिका संयोजक विक्रम खड़गी लगायत ओप्स परिवारका पदाधिकारीहरु ,खेलप्रेमी विद्यार्थीको सहभागिता रहेको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00