ज्ञापनपत्रमा नगरपालिकाका केही जनप्रतिनिधिले विभिन्न समयमा समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै पत्रकारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष दबाब सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा नगरपालिकासम्बन्धी समाचार प्रकाशित भए सामूहिक प्रतिकार गर्ने चेतावनी दिने गरेको आरोपसमेत लगाइएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिबाट प्रेस तथा पत्रकारिताप्रति यस्तो व्यवहार हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको पत्रकारहरूको ज्ञापन पत्रमा उल्लेख छ।
आफ्नो ज्ञापनपत्रमा पत्रकारहरूले स्थानीय सञ्चारमाध्यमहरू नगरपालिकाका आलोचक मात्र नभई विकास र सुशासनका सहयात्रीसमेत भएको उल्लेख गर्दै कुनै एक सञ्चारमाध्यममा प्रकाशित समाचार वा सामाजिक सञ्जालमा व्यक्त व्यक्तिगत धारणाका आधारमा सम्पूर्ण पत्रकार समुदायमाथि प्रश्न उठाउनु उचित नहुने बताएका छन्।
उनीहरूले कुनै समाचार तथ्यहीन वा पत्रकार आचारसंहिताविपरीत भएको ठहरिए त्यसका लागि प्रेस काउन्सिल नेपाल, अदालत वा अन्य सम्बन्धित निकायमार्फत कानुनी उपचार खोज्ने व्यवस्था रहेको उल्लेख गर्दै सम्पूर्ण पत्रकार समुदायलाई लक्षित गरी चेतावनीपूर्ण विज्ञप्ति जारी गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।
ज्ञापनपत्रमार्फत पत्रकारहरूले नगरपालिकासँग पत्रकारप्रति देखाइएको पूर्वाग्रही दृष्टिकोण सच्याउन, पत्रकार समुदायमाथि लगाइएका आरोप फिर्ता लिन, सार्वजनिक रूपमा स्पष्ट धारणा व्यक्त गर्न तथा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न माग गरेका छन्। साथै पत्रकारमाथि भइरहेको अपमानजनक व्यवहार, पेशागत हस्तक्षेप र निषेधको विषयमा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल सरकारको समेत ध्यानाकर्षण गराइएको जनाइएको छ।ज्ञापनपत्रमा रबिन प्रसाद थपलिया, रामशरण न्यौपाने, ऋषि बस्याल, मनोज गजुरेल, रमित बलामी, सनत आचार्यलगायत तारकेश्वर क्षेत्रमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको हस्ताक्षर रहेको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले पत्रकारहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
