काठमाडौं, असार १२ – तारकेश्वर नगरपालिका–१० स्थित लालीगुराँस नेसनल एकाडेमीले ‘उत्कृष्टता सम्मान एवं शुभयात्रा कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न गरेको छ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै उच्च शिक्षाको यात्रामा अघि बढ्न लागेका विद्यार्थीहरूलाई शुभकामना प्रदान गरिएको थियो।
कार्यक्रममा नगरप्रमुख महर्जनले शिक्षामा गरिएको लगानीले सकारात्मक प्रतिफल दिन थालेको उल्लेख गर्दै प्रविधिमैत्री, सीपमूलक र गुणस्तरीय शिक्षामा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेश जोसीले सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य र अनुभव आदान–प्रदान आवश्यक रहेको धारणा राख्नुभयो।
विद्यालयका प्रिन्सिपल गोपाल बुढाथोकीले विद्यार्थीको बौद्धिक, भावनात्मक र व्यवहारिक सीपको सन्तुलित विकासमा विद्यालय केन्द्रित रहेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्धबहादुर पुनले व्यक्तित्व विकास, नेतृत्व क्षमता र सिर्जनशीलतालाई प्राथमिकतामा राखेर शिक्षण भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
