तारकेश्वर नगरपालिकाको सभा कक्षमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस – २०८२ को अवसरमा विशेष अन्तरक्रियात्मक कार्यक्रम समस्त सरोकारवालाहरूसँग बहस र छलफल गर्दै सम्पन्न गरिएको छ।
‘प्रविधिको सही प्रयोग गरौं , लैङ्गिक हिंसा अन्त्य गरौँ ‘ भन्ने मूल आशयका साथ आयोजना गरिएको उक्त कार्यक्रममा तारकेश्वर नगर प्रमुख कृष्ण महर्जन,, उपप्रमुख सिर्जना बुर्लाकोटी , प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा प्रमुख सुदिनराज बुढाथोकी ,वडाका जनप्रतिनिधिहरू , सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, स्वास्थ्य स्वयंसेविका वर्ग तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।

मंसिर १९ गते सम्पन्न उक्त कार्यक्रममा महिलामाथि हुने हिंसाका विविध चर्चा र छलफलका साथै स्वास्थ्य सम्बन्धी चेतनाको बहस तथा छलफल समेत चलाइएको थियो। उपस्थित जनसमुदायको तर्फबाट उठेका जिज्ञासा र प्रश्नहरुलाई नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायतले उत्तर दिनुभएको थियो।
यस्ता खाले कार्यक्रमबाट समाजमा रहेको लैङ्गिक विभेद ,सामाजिक उत्तरदायित्वको बहन, समाजमा स्वास्थ्य चेतनाको अभिवृद्धि बढ्दै जाने र नगरवासीहरूमा आफ्नो समाज विभेदरहित बनाउने र एक अर्काको सम्मान र समानताको दायित्व बोधले एकताको पाठ सिकाउने आशा राखिएको छ । कार्यक्रमको सहजीकरण नगरपालिकाकी कर्मचारी लक्ष्मी खड्काले गर्नुभएको थियो।

