काठमाडौं ।
प्रथम नर्थ भ्याली अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी विद्यालयहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलकुद भावना, अनुशासन र टीमवर्कको उदाहरण प्रस्तुत गरेका थिए। प्रतियोगिता तारकेश्वर नगर – ६ मा रहेको नर्थ भ्याली स्कुलले आपनो स्कुलको फुटसल खेल मैदानमा सम्पन्न गरेको हो।
जेष्ठ ३० गते सम्पन्न उक्त प्रतियोगिताको उपाधि इलिगेन्ट पर्ल स्कुलले जित्दै च्याम्पियन बन्न सफल भयो। त्यस्तै, सेक्रेड हार्ट स्कुल उपविजेता बन्यो भने दीपज्योति स्कुल तेस्रो स्थानमा रह्यो। सनफ्लावर एकेडेमीले चौथो स्थान हासिल गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताभर छात्रा खेलाडीहरूले उत्साहजनक प्रदर्शन गर्दै आफ्नो प्रतिभा, मेहनत र प्रतिस्पर्धात्मक क्षमताको परिचय दिएका थिए। सहभागी टोलीहरूको खेल भावना र समर्पणले प्रतियोगितालाई थप रोमाञ्चक र स्मरणीय बनाएको आयोजकको भनाइ छ।
यस अवसरमा नर्थ भ्याली स्कुलले प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक तथा समर्थकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
आयोजकका अनुसार प्रतियोगिताले छात्रा फुटबलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै विद्यालयस्तरमा खेलकुदप्रति रुचि बढाउन सकारात्मक भूमिका खेलेको छ। साथै, भविष्यमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गर्दै छात्रा खेलाडीहरूको प्रतिभा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
विजयी विद्यालय तथा खेलाडीहरु ट्रफी , मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएका छन् ।
